sajalsandesh

कांग्रेस किम्बदन्ती बन्ने अवस्था आउनसक्छ – प्रचण्ड

पोखरा – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारलक्षित विवादास्पद अभिव्यक्ति दिएका छन् ।

बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उम्मेदवारको उमेरप्रति कटाक्ष गरेका हुन् ।

वृद्ध उमेरका व्यक्तिलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवार बनाएको भन्दै उनले व्यंग्य गरेका हुन् ।

अध्यक्ष दाहालले कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेललाई ‘देवघाटमा जाने उमेरमा भोट माग्न हिँडेको’ भनी टिप्पणी गरे । पौडेल यही मंसिर १४ गते कास्की–२ मा हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार छन् ।

‘हाम्रो प्रधानमन्त्रीलाई कहिले–काहीँ बिदा दिनुपर्छ भनेकाहरुले विचरा ७७ वर्षको बूढालाई अघि सारेका छन्’–उनले भने–‘जो अब देवघाटतिर जानुपर्ने बेलाका छन् ।’

दाहालले थपे–‘त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ?’

कांग्रेसका केही नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘आराम गर्नुपर्छ’ भनेर बेलाबखतमा दिएका अभिव्यक्तिप्रति दाहालको यो प्रतिक्रिया आएको हो ।

कांग्रेस देखेर टिठ लाग्यो

उनले नेपाली कांग्रेस देखेर आफूलाई टिठ लागेको टिप्पणी गरे । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल–भारत सीमा विवादकाबारेमा दिएको अभिव्यक्ति झुटो भएको उनले बताए ।

गएको शनिबार देउवाले पोखरामै प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा राखेको आरोप लगाएका थिए ।

सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाएर उट्पट्याङ् गरी जनतालाई उल्लु बनाउन खोजेको देख्दा आफूलाई टिठ लागेको उनको भनाइ थियो ।

कांग्रेस किम्बदन्ती बन्ने अवस्था आउनसक्छ

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई कांग्रेसले बिर्सेकोसमेत बताए । कांग्रेसलाई आत्मसमीक्षा गर्न उनले सुझाव दिए ।

‘होइन भने तपाइँहरु जसरी ओरालो लाग्नुभएको छ, त्यसरी नै नेपालको इतिहासमा कांग्रेस किम्बदन्ती बन्ने अवस्था आउनसक्छ’–उनले भने ।

कांग्रेस पनि संविधान निर्माणको सहयात्री भएकाले झुट बोलेको आफूलाई मन नपर्ने उनको भनाइ थियो । ‘तपाइँहरु साह्रै तल खसेको पनि मलाई त्यति मन पर्दैन’–अध्यक्ष दाहालले भने ।

उनले मुलुकमा दलित प्रधानमन्त्री, जनजाति प्रधानमन्त्री नेकपाकै प्रस्तावमा बन्ने दाबी गरे ।

उनले पहिलोपल्ट देशमा राष्ट्रियताको विषयमा एकमत भएको पनि बताए । ‘यहि बेला हो, कालापानीबाट सेना फिर्ता गर्ने, हाम्रो गुमेको भू–भाग ल्याउने’–उनले भने ।

उनले कास्की–२ बाट विद्या भट्टराईलाई विगतको निर्वाचनमाभन्दा धेरै मतान्तरले विजयी गराउन आग्रहसमेत गरे ।

नेकपाका नेता वामदेव गौतमले कांग्रेस विकासको बाधक भएको आरोप लगाए ।

ismt college
dish home