कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए पेट्रोल बिना चल्ने ‘मोटर साइकल’

२०७६ मंसिर ९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बागलुङ – जिल्लाका एक विद्यार्थीले पेट्रोल बिना चलाउन सकिने मोटर साइकल बनाएका छन्। जिल्ला सदरमुकामस्थित चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटर साइकल बनाएका हुन् ।

उनले पुरानो मोटर साइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’ नाम दिइएको छ। बागलुङ नगरपालिका २ अदालत रोड घर भएका श्रेष्ठ कक्षा ९ मा अध्ययनरत छन् ।

उनले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सिलेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेका छन् । लामो समयदेखि युट्युवमा हेर्ने गरेको र लामो अभ्यासपछि पेट्रोल बिना चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गरेको श्रेष्ठ बताउँछन् ।

गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उनको भनाई छ । ‘धेरै पटक विफल भएँ, तर मनमा सक्छु भन्ने एक किसिमको अठोट र विश्वास थियो,’ गणेशले भने, ‘अन्ततः प्रयास, सोच र योजनामा सफल भएँ ।’

श्रेष्ठले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनी समेत गरिएको थियो । यसअघि श्रेष्ठले क्ल्याफ स्विच वल्भ, स्पिकर इन्भटरजस्ता इलेक्ट्रिक सामान बनाउन सफल भएका थिए । फुर्सद हुँदा साथ नयाँ खोज र अनुसन्धामा ध्यान दिने श्रेष्ठले भविष्यमा इलेक्ट्रिक इञ्जिनियर बन्ने आफ्नो सपना रहेको सुनाउँछन् । बाइक निर्माणमा व्यक्तिगत ६० हजार रुपैयाँ खर्च भएको उनले बताए ।

विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्राविधिक सामग्रीसहित निर्माण कार्यमा सहयोग गरेका थिए। । ‘ विद्यालयमा उनी पढाइमा मध्यम खालका विद्यार्थी हुन् तर, प्रविधिमा उनको बढी रुची र लगाव छ,’ प्रिन्सिपल श्रेष्ठले भने, ‘निरन्तरको लगावका कारण नेपालमै नयाँ खालको पेट्रोल बिना चल्ने मोटर निर्माण गरेका छन्, अब हामी उनलाई थप प्राविधिक ज्ञान हाँसिल गर्न उपर्युक्त वातावरण र व्यवस्था गर्नका लागि पहल र सहयोग गर्नेछौं।’

अन्नपुर्ण पोस्ट बाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार