sajalsandesh

अव नि:शुल्क विवहा गराई दिने, १५ लाख रकम विनियोजन

इनरुवा – सुनसरीको कोशी गाउँपालिकाले मंसिरको अन्तिम साता निःशुल्क विवाह समारोहको आयोजना गर्ने भएको छ ।
गाउँपालिकाको कार्यालयले सम्पूर्ण खर्च व्यहोर्ने गरि सामूहिक विवाह समारोह आयोजना गर्न लागेको हो ।

गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार विपन्न तथा गरिव परिवारलाई लक्षित गरि सामुहित विवाह कार्यक्रमको आयोजना गर्न लागिएको हो । जसका लागि गाउँसभाबाटै कार्यक्रम स्विकृत गरि १५ लाख रकम विनियोजन गरिएको उनले बताए ।

छोराछोरीको विवाहको विषयलाई लिएर विपन्न तथा गरिव समूदायका अभिभावकले झेल्ने सास्ती र पीडालाई मध्यनजर गर्दै सामुहिक विवाह कार्यक्रमलाई गाउँसभाबाटै स्विकृत गराइएको अध्यक्ष अन्सारीले जानकारी दिए । उनले निःशुल्क रुपमा आयोजना गरिने सामुहिक विवाह समारोहलाई हरेक वर्ष निरन्तरता दिइने समेत बताए ।

गाउँपालिकाको कार्यालयले मंसिरको अन्तिम साता आयोजना गर्न लागिएको सामुहिक विवाह कार्यक्रममा सहभागिताका लागि नाम दर्ता समेत खुलाएको छ ।
विवाह गर्न चाहने उमेर पुगेका युवायुवतीले अभिभावकको मञ्जुरीमा मंसिर १७ गतेभित्र नजिकको वडा वा गाउँपालिकाको कार्यालयमा नाम दर्ता गराउन सक्ने छन् ।

सामुहिक विवाहमा सरिक भए वापत बेहुला र बेहुलीलाई लत्ताकपडाका लागि १०–१० हजार रकम गाउँपालिकाले उपलब्ध गराउने बताइएको छ । विवाह गर्ने जोडीलाई जातीय परम्परा अनुसारको विधिविधानसहितको बन्दोवस्ती मिलाइने गाउँपालिकाको कार्यालयले जनाएको छ ।

अध्यक्ष ऐयुब अन्सारीका अनुसार विवाहमा केटा पक्षले जन्तीसमेत लिएर आउन पाउने छन् । जन्ती भने ५० जना भन्दा बढी ल्याउन पाइने छैन् । जन्तीसहित आगन्तुकको स्वागत तथा खानपिनको व्यवस्थासमेत गाउँपालिकाको कार्यालयले जुटाउने अन्सारीले बताए ।

सामुहिक विवाह कार्यक्रममा गाउँपालिका भित्र बसोबास गर्नेहरुले मात्र सहभागिता जनाउन पाउने छन् । कोशी गाउँपालिकाको कार्यालयले सामुहिक विवाह समारोह भने कोशी कटानमा आयोजना गरिने जनाएको छ ।

ismt college
dish home