sajalsandesh

मन्दिर बनाउन सरकारले दिएको बजेटबाट व्यक्तिको घर

वझाङ- सुदुरपश्चिम प्रदेश सरकारले मन्दिरका लागि बिनियोजन गरेको रकम दुरुपयोग गरी वझाङका एक व्यक्तिले घर निर्माण गरेको भेटिएको छ ।

उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले ‘पर्यटकीय गन्तव्यको पहिचान पुर्वाधार निर्माण र कार्यान्वयन कार्यक्रम’ अन्र्तगत गत आर्थिक वर्षमा दिएको १४ लाख रुपैयाँ रकम दुरुपयोग गर्दै दुर्गाथली गाउँपालिका– १, चिमाडीगाउँका खड्कप्रसाद चिमाडीले निजी घर निर्माण गरेका छन् ।

प्रदेश सरकारले बाठपाला मुथीपाटा मन्दिर निर्माणका लागि १४ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । तर यो रकमले बाठपाला मन्दिर निर्माणको कुनै काम गरिएन ।

चिमाडी गाउँमा रहेको सो मन्दिर भन्दा भन्दा करिव ५० मिटर टाढा रहेको जग्गामा चिमाडीकोे घर निर्माणमा सो रकम खर्च गरियो ।

चिमाडीको घर भत्किएपछि अहिले प्रदेश सरकारले दिएको बजेटबाट नयाँ घर बनाइएको यहाँका स्थानीयको भनाई छ । दुइकोठे घर बनाइएको जग्गा पनि चिमाडीको हो ।

घर भएको जग्गा आफ्नो नाममा दर्ता रहेको चिमाडी स्वीकार गर्छन् । उनले सो ठाउँमा मन्दिर नभई घर नै बनाएको र त्यो दैपाँण भएको दावी गरे ।

मन्दिरमा पुजाआजा गर्दा श्रद्धालु बस्ने घरलाई दैपाँण भनिन्छ । दैपाँणमा पुजाका वेला बाहेक अरु बेला जसको घर हो उसैले प्रयोग गर्छन् । ‘एउटा कोठा हल जस्तो बनाएका छौं त्यो दैपाँण हो । अर्को कोठा चैं सुत्नका लागि बनाएको हो,’ चिमाडी भन्छन् ।

तर निर्माण समितिकी अध्यक्ष सत्य चिमाडीका श्रीमान् परमानन्द चिमाडी भने सो घर दैपाँण नभएर मन्दिर नै भएको बताउँछन् ।

‘घर जस्तो देखेर त्यसो भनेका होलान र त्यो दैपाँण नभएर मन्दिर नै हो । माथि गजुर हाल्ने काम बाँकी रहेकोले मान्छेलाई भ्रम परेको हुन सक्छ,’ उनले भने ।

बाँठपाला मन्दिरमा १० परिवारले पुजाआजा गर्छन । ती मध्ये पाँच परिवार बसाइ सरेर तराइतर्फ हिडेपछि हाल सो मन्दिरमा पाँच परिवारले मात्र पुजाआजा गर्दै आएका छन् ।

यता दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशी मन्दिर नभएको दैपाँण नै भएको बताउँछन् । दैपाँण चिमाडी परिवारले मात्र प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

मन्दिरका लागि विनियोजन भएको बजेट घर निर्माण (अध्यक्षका अनुसार दैपाँण निर्माण) मा कसले प्रयोग गर्न अनुमति दियो भन्ने बिषयमा भने उनी मौन छन् । शिलापत्रबाट

ismt college
dish home