सुवास नेम्वाङलाई सभामुख बनाउँदै प्रधानमन्त्री ओली

२०७६ मंसिर ६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्रीले २१ महिनामै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । दुई तिहाइ बहुमतको शक्तिशाली सरकार पाँच वर्षकै लागि गठन भएको भनिएको थियो । तर, शक्तिशाली सरकारका मन्त्रीहरू काम गर्न नसकेर वा गर्न नदिएर निरीह बन्दै बाहिरिएका छन् ।

मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाको एक र प्रदेश सभाको तीन क्षेत्रको उपनिर्वाचन सकिएलगत्तै ओली सरकारमा सामेल समाजवादी पार्टी नेपाल बाहिरिने भएको छ । समाजवादी पार्टीले उपनिर्वाचन सकिएलगत्तै सरकार छाड्ने भित्री तयारी गरेपछि प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई घटुवा गरेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसलाई उपेन्द्रले पार्टीकै अपमान ठानेका छन् ।

उपनिर्वाचन सकिएलगत्तै सरकारले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ । कृष्णबहादुर महराले महिला जबर्जस्तीकरणीमा मुछिएर पद त्यागेपछि सभामुख पद रिक्त छ । सभामुखमा अहिलेकी उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले दाबी गरिरहेकी छन् । बुधबारमा प्रधानमन्त्री ओलीले तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिएर मन्त्री बन्न अफर गरेका थिए । तर, तुम्बाहाम्फेले ठाडै अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्री ओली उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बनाएर सभामुख र उपसभामुख दुवैको निर्वाचन गराउने मनस्थितिमा छन् । तर, त्यसका लागि उपसभामुख तुम्बाहाम्फे अवरोध बनेकी छन् । केही दिनभित्रै उनलाई पदबाट राजीनामा दिलाउन लगाई प्रतिनिधिसभाको बैठक बस्नुअघि नै सभामुख र उपसभामखुको निर्वाचन गरिने भएको छ ।

नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने मनस्थितिमा छन् । सोही कारण ओलीले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका हुन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अग्निप्रसाद सापकोटा र देव गुरुङमध्ये एकलाई सभामुख बनाउने रणनीतिमा छन् । तर, प्रधानमन्त्री ओली जुनसुकै हालतमा पनि नेम्वाङलाई सभामुख बनाउने मनस्थितिमा रहेको बालुवाटार स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार