मैले गरेको कामको मर्ने बेलासम्म पनि जस–अपजसको भारी बोक्न तयार छु – लालबाबु

२०७६ मंसिर ५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट जिम्मेवारीमुक्त गरिएका नेकपा नेता एवं सांसद लालबाबु पण्डितले मन्त्री हटाउने र राख्ने प्रधानमन्त्रीको स्वविवेककको कुरा भएको बताएका छन् । प्रधानमन्त्रीय प्रणालीमा राम्रो/नराम्रोको कुरै नहुने उनले टिप्पणी गरे । ‘प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले जसलाई उपयुक्त देख्नुहुन्छ उसलाई राख्नुहुन्छ, त्यहाँनेर राम्रो/नराम्रोको प्रश्न उठ्दैन,’ आफूले गरेका कामप्रति कुनै पश्चाताप नरहेको भन्दै पण्डितले भने, ‘हरेक दिन भन्ने गरेको छु, मैले कुनै गलत कार्य गरेको छैन ।

मैले गरेको कामको मर्ने बेलासम्म पनि जस–अपजसको भारी बोक्न तयार छु ।’ मन्त्रीबाट जिम्मेवारीमुक्त गराइएपछि बिहीवार लोकान्तर डटकमलाई प्रतिक्रिया दिँदै पूर्वमन्त्री पण्डितले संघीयता कार्यान्वयको जटिल काम आफूले पूरा गरेको बताए । कर्मचारी समायाेजनका क्रममा केही व्यक्ति असन्तुष्ट रहेको उनले बताए ।

‘मेरो जिम्मेवारी नै सबैभन्दा कठिन थियो– संघीयता कार्यान्वयनको । त्यसमा पनि सरकारको तीनवटै तहको संरचना बनाउनुपर्ने थियो, त्यसमा कर्मचारीहरूलाई कामको जिम्मेवारी दिँदै व्यवस्थापन गर्दै जानुपर्ने थियो । यसमा व्यक्तिगतरूपमा कोही कर्मचारी रिसाउन सक्छन्, कोही व्यक्ति पनि रिसाउन सक्छन्, किनभने समायोजनमा उनका मान्छे आफूले भनेअनुसार नहुन सक्छ । मैले त सफ्टवेर प्रणालीको प्रयोग गरेको हो,’ पण्डितले लोकान्तरसँग भने, ‘त्यसले गर्दा प्रधानमन्त्रीज्यूले अझै राम्रो रिजल्ट निकालौंला भनेर नयाँ क्याबिनेट बनाउनुभएको छ भने शुभकामना बाहेक के भन्ने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर गर्दै पण्डितले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा हृदयेश त्रिपाठीलाई दिएका छन् । तत्कालीन तमलोपाबाट अलग्गिएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सूर्च चिह्न लिएर चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार