अस्पताल शिलान्यासको वर्ष दिनः कतै जग्गै पुगेन, कतै जगै बसेन

२०७८ कार्तिक १६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

जिल्लामा एक वर्ष पहिले शिलान्यास गरिएको सातवटा स्थानीय तहका अस्पतालको जग पनि बन्न सकेको छैन । कतै जग्गा नपुगेर ठेक्का लागेको छैन भने ठेक्का लागेका ठाउँमा पनि जगसम्म निर्माण सकिएको छैन ।

संघीय सरकारको घोषणाअनुसार १६ मंसिर २०७७ मा जिल्लाका आठमध्ये सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास भएका थिए । शिलान्यास भएकामध्ये मानेभञ्ज्याङमा भने जग्गा अपुग भएर ठेक्का नै लाग्न सकेको छैन । अन्य छवटा स्थानीय तहमा शिलान्यास भएका अस्पतालका जग पनि बस्न सकेका छैनन् ।

पालिका अस्पताल निर्माणबारे खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोक्काले भने, ‘हाम्रोमा काम भइरहेको छ । वैशाख-जेठ तिरबाटै काम सुरु भएको हो, जग बनिसकेको छ ।’ अध्यक्षकै भनाइलाई आधार मान्ने हो भने एक वर्ष बित्दा बल्ल जग मात्र बनेको छ ।

पालिका अस्पताल भवन बनाउन स्थानीय तहलाई पहिलो चरणमा ७० लाख रुपैयाँ बजेट उपलब्ध भएको थियो । बहुवर्षे योजनाअन्तर्गत निर्माण हुने ती अस्पतालको काम कतै जग्गा सम्याउने त कतै ठेक्कामा देखिएको किचलोका कारण प्रभावित भएका छन् ।

मोलुङ गाउँपालिकामा घडेरी सम्याउन घडेरी वरिपरि खेतीपाती रहेको र स्थानीयले नउठाई नदिने भएपछि काम सुरु भएको छैन । सुनकोसीमा एक वर्षपछि घडेरी सम्याउने काम सुरु भएको सुनकोसी- ५ का वडा अध्यक्ष गोविन्द तामाङले बताए । उनका अनुसार अहिले घडेरी सम्याउने काम भइरहेको छ ।

त्यस्तै, चम्पादेवीमा ठेक्का सेटिङमा भएको भन्दै रद्द गर्न प्रतिस्पर्धी निर्माण व्यवसायीहरूले उजुरी गरे पनि पालिका अध्यक्षले आफ्नो स्वार्थ मिलेका ठेकेदारलाई ठेक्का दिएको आरोप छ । अस्पताल निर्माणको विषयमा अहिले धमाधम काम भइरहेको गाउँपालिका अध्यक्ष नवराज केसीको दाबी छ ।

चिशंखुगढीमा डीपीसी लेभल सकिएर थप काम भइरहेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । गाउँपालिकाले ठेक्का लगाउन ढिलाइ गरेको र ठेकेदारले सम्झौता गरेपछि पनि काम नगर्दा स्वास्थ्य संस्थाका भवनहरू अलपत्र परेको सुशासनका अभियन्ता बोधनारायण श्रेष्ठले बताए । उनले भने, ‘गाउँपालिकाको प्रभावकारी अनुगमन र समयमै ठेक्का लगाउन चासो दिएको भए अहिले आधा जस्तो संरचना निर्माण भइसक्ने अवस्था हुन्थ्यो ।’

पालिका अस्पतालका भवनहरू निर्माणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा ध्यान नपुगेको सरोकारवालाको भनाइ छ । सरकारी अस्पताल गाउँमै बनेमा सामान्य उपचारका लागि महँगा निजी अस्पतालमा धाउनुपर्ने जिल्लाबासीको बाध्यता हट्ने जेष्ठ नागरिक संघका अध्यक्ष जीवनाथ शर्मा बताउँछन् ।

तस्बीरः एक वर्षअघि २०७७ सालमा सुनकोसी गाउँपालिकामा अस्पताल शिलान्यासपछि जनप्रतिनिधिहरू ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार