झापाबाट ओलीको उदघोष : प्रचण्डले चुनाव जित्दैनन, माधव नेपाल समानुपातिकमा बस्छन

२०७८ कार्तिक ७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, कात्तिक ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाव जितेर देखाउन पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई चुनौती दिएका छन् । गृहजिल्ला झापामा आज आयोजित बृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो चुनौती दिएका हुन् ।

झापाको विर्तामोडमा आइतबार तीन हजारभन्दा बढीलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्ड र माधवले अव चुनाव कतैबाट नजित्ने ठोकुवा गरे । ‘प्रचण्डले चुनाव जित्दैनन, माधव नेपाल समानुपातिकमा बस्छन,’ अध्यक्ष ओलीले भने । उनले माधव नेपालको नामै लिएर ‘गद्दारहरुले विरोधीसँग लागेर एमालेलाई दुःख दिएको’ बताए ।

‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन । यो देश बनाउनेहरुको पार्टी हो । माधव नेपालजस्ता देशी–विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन,’ ओलीले भने ।

उनले प्रचण्डलाई पनि एमालेले चुनाव जिताइ दिएको भन्दै अव जित्ने कुरा सपना बनेको बताए । ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन । उनीहरूलाई कसले भोट दिन्छ ? अव जनताले भन्नेछन– जाऊ अदालत गएर परमादेश लिएर आऊ, हामीकहाँ किन आउँछौं ?’ ओलीले भने ।

सबै लाग्दा आफू नेतृत्वको सरकार तीन वर्षमा मात्रै ढालेको स्मरण गर्दै उनले अहिलेको सरकार तीन महिनामा नै ढलपल–ढलपल अवस्थामा पुगेको बताए । एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने भन्दै ओलीले आगामी निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा निकै गाह्रो भएको तथ्य राखे । ‘अरु कुनै पार्टीले यस्तो गर्न सक्दैन, यो सामथ्य अरुसँग छैन,’ ओलीले भने, ‘एमाले विचारमा मात्र होइन, लोकतान्त्रिक आचमरणमा पनि अगाडि छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार