बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्दै, एकै दिन ३५ हजारभन्दा बढी संक्रमित

२०७८ आश्विन १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लण्डन, असोज १९ गते । बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुद पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको बताइएको छ ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्षमाथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।

यहाँ पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार