बिहारका दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि…

२०७८ आश्विन १, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एकाबिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्छन् । बच्चाले आफ्नो खातामा बैंकबाट ‘धेरै रकम’ जम्मा भएको बताएपछि अभिभावकले उनीहरूलाई लिएर बैंक पुग्छन्, तर केही समयपछि निराश भएर फर्किन्छन् ।

सार्वजनिक इन्टरनेट केन्द्रमा पुगेर स्टेटमेन्ट जाँच गर्दा उनीहरूको खातामा करोडौं भारु जम्मा भएको देखिएको थियो । कक्षा ६ मा अध्ययनरत आशीषको खातामा ६ करोड दुई लाख जम्मा भएको रहेछ । अर्का विद्यार्थी गुरुचरण विश्वासको खातामा नौ सय करोड जम्मा भएको थियो । गाउँका प्रमुखले त्यसको पुष्टि गरे ।

तर, उनीहरूको खातामा देखाएको पैसा वास्तवमा जम्मा भएको थिएन । बैंकको प्राविधिक समस्याले त्यस्तो देखाएको थियो । यो सुन्दा दुवै बलक र उनीहरूका अभिभावक निराश बने ।

भारत सरकारको योजनाअन्तर्गत विद्यालय पोसाक र कापीकिताब किन्न बैंक खातामा केही रकम डिपोजिट भएको हुन सक्ने अभिभावकले अनुमान गरेका थिए ।
उत्तर विहारको ग्रामीण बैंकमा दुवै बच्चाको अकाउन्ट खोलिएको थियो ।

‘दुईजना स्कुले विद्यार्थीको खातामा ठूलो परिमाणमा रकम जम्मा भएको खबर थाहा पाएपछि हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं,’ कटिहर जिल्लाका म्याजिस्ट्रेट उदय मिश्रले भने । कम्प्युटरमा देखिएको प्राविधिक समस्याले उनीहरूको खातामा पैसा देखाए पनि सो रकम डिपोजिट नभएको सो बैंकका प्रबन्धकले बताएका छन् । यसबारेमा बैंकले थप अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार