भारतले नेपालको भूभाग मिचेको स्पष्ट छ – चीन

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – चिनियाँ अध्ययन केन्द्रले भारतद्वारा अतिक्रमित भूभाग फिर्ताको लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।चिनियाँ अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले एक विज्ञप्ति जारी गरि नेपाल र ब्रिटिसबीचको सुगौली सन्धिले दुई मुलुकको सिमाना छुट्याएको भएपनि हालै सार्वजनिक भारतीय नक्साले नेपाली भूभाग मिचेको देखिएको बताउदै समस्या समाधानका लागि भारतसँग पहल गर्न आग्रह गरेका हुन् ।

भारतले निकालेको राजनीतिक नक्साले नेपाली भूमि अतिक्रमण गरेको पुष्टि हुने बताउदै उनले विज्ञप्तिमा भनेका छन्”आफ्नो छिमेकीको भूभाग बिनास्वीकृति लिनुले माथिल्लो स्तरको दबाब सिर्जना गरेको देखिन्छ जसलाई केन्द्रले जोडदार रूपमा विरोध गर्छ ।”

यस अघि चिनियाँ दुतावासले पनि दुई देशको भूमि सम्बन्धि समस्यालाई वार्ताको माध्यामबाट हल गर्न सुझाव दिएको थियो । चिनियाँ दुतावासका प्रवक्ता वाङ सिओयोलोङले गत बिहिबार जारी गरेको विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पारिएको छ ।

कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्ने सदिच्छा व्यक्त गरिएको छ । ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र संवादमार्फत् कालापानीमाथिको विवाद समाधान गर्नेछन्’, विज्ञप्तिमा भनिएको छ ।

‘भर्खरै भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले नेपाल–भारत सीमा विवादलाई तीव्र बनाएको छ । नेपाली पक्षले यसमा धेरै चासो र असन्तुष्टि व्यक्त गरेको छ । यसबारे चीनको धारणा के छ ?’, भनेर प्रश्न गरिएको थियो । सो प्रश्नको उत्तरमा प्रवक्ता वाङले यो दुई देशको आपसी विषय भएकाले वार्ताबाटै समाधान होस् भन्ने चाहेको उल्लेख गरेका हुन् ।

भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ देखाएपछि समस्या उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार