माधव नेपाललाई महेश बस्नेतले दिए भौतिक आक्रमणको चेतावनी !

२०७८ श्रावण १०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेका नेता महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक आक्रमणको चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा युथ फोर्सको भ्याली कमान्ड घोषणा क्रार्यक्रममा युवा संघका इन्चार्जसमेत रहेका एमाले नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले ‘आममाफी’ दिने घोषणा गर्दै पार्टी एकतामा आउन आह्वान गर्दा पनि वरिष्ठ नेता नेपालले उल्टै अध्यक्षलाई कटाक्ष गरेको भन्दै सकेसम्म मुखले सम्झाउने, नमाने ‘हातगोडाले पनि सम्झाउनुपर्ने’ स्थिति आउन सक्ने चेतावनी दिएका हुन्।

अध्यक्ष ओलीले ‘आममाफी भयो, अब आउनुस् मिलेर काम गरौं’ भनेपछि वरिष्ठ नेता माधवकुमार नेपालले ‘बडामहाराज खुसी हुनुभएछ, हामीलाई आममाफी दिनुभएछ’ भनेर व्यंग्य गरेका थिए।

‘प्रचण्डको पुच्छर बनेर, शेरबहादुर देउवाको वैशाखी बनेर कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन लाग्नुहुन्छ भने माधव नेपालको विरुद्ध यो (युथ फोर्स) लाग्दैन, माधव प्रवृत्तिको विरुद्ध यो लाग्छ,’ बस्नेतले भने, ‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुहोस् भन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो। मुखले सम्झाउँछौं, मलाई लाग्छ- मुखले सम्झाउँदै काफी हुन्छ। यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीं हातगोडाले पनि सम्झाउनुपर्ने हुनसक्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार