sajalsandesh

बागमती प्रदेशमा १५ अर्ब ५४ करोड बढी बजेट फ्रिज

हरेक वर्ष बजेट खर्चमा कमजोर बन्दै आइरहेको बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७–७८ मा ३० प्रतिशत बजेट फ्रिज भएको छ ।

गत आर्थिक वर्षमा विनियोजित ५१ अर्ब ४२ करोड ७४ लाख ४४ हजार बजेटमा ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य बागमती सरकारको थियो । तर, असार मसान्तसम्म ६९ दशमलव ७८ प्रतिशत बजेट मात्रै खर्च हुन सकेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार ३५ अर्ब ८८ करोड ४४ लाख ८६ हजार मात्र खर्च भएको छ ।

गत आर्थिक वर्षमा विनियोजित बजेटमध्ये ३० प्रतिशत अर्थात् १५ अर्ब ५४ करोड २९ लाख ५८ हजार रकम फ्रिज भएको कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिए । प्रदेश सकारले गत आर्थिक वर्ष २०७७–७८ मा पुँजीगततर्फ २६ अर्ब ५३ करोड ५५ लाख र चालुतर्फ २२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ ६५ दशमलव ७१ प्रतिशत अर्थात् १४ अर्ब ४१ करोड १३ लाख २१ हजार ८ सय ३७ रुपैयाँ खर्च भएको छ । पूँजीगततर्फ ७३ प्रतिशत अर्थात् २० अर्ब ७ करोड ३१ लाख ६४ हजार २ सय ६ रुपैयाँ खर्च भएको जनाइएको छ । प्रदेश सरकारले वित्तीयतर्फ ७० प्रतिशत अर्थात् १ अर्ब ४० करोड खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५–७६ मा ६० प्रतिशत खर्च गरेको सरकारको खर्च आर्थिक वर्ष २०७६–७७ मा ५८ प्रतिशतले अझै खुम्चिएको थियो । बागमतीको आर्थिक वर्ष २०७५–७६ मा ३९ प्रतिशत फ्रिज भएको थियो । यसैगरी आर्थिक वर्ष २०७६–७७ मा ४२ प्रतिशत फ्रिज भएको कार्यालयका सूचना अधिकारी पाण्डेले बताए । बजेट फ्रिजको अनुपातलाई भने बागमतीले हरेक वर्ष घटाउँदै आएको देखिन्छ ।

बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलको असारे विकासको अन्त्य गर्ने प्रतिबद्धता भाषणमै सीमित बनेको छ । सरकारले बजेट खर्च बढाउन असार मसान्तमा मात्रै १३ अर्ब ६० करोड १२ लाख ८६ हजार बजेट खर्च गरेको थियो ।

असारमा मात्रै पूँजीगततर्फ ८ अर्ब ९२ करोड ९१ लख ६४ हजार २ सय ६ र चालुगततर्फ ३ अर्ब २७ करोड २१ लख २१ हजार ८ सय ३७ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले पहिलो चौमासिकमा जम्मा ८ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको थियो । बजेट खर्चमा कमजोर सरकारले दोस्रो चौमासिकमा २५ दशमलव ३५ प्रतिशत मात्र बजेट खर्च गरेको थियो ।

ismt college
dish home