अब सवारी नवीकरणदेखि जाँचपाससम्म घरमै बसेर गर्न सकिने

२०७८ असार २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यातायात कार्यालयमा घण्टौंसम्म लाइन बस्नुपर्ने झन्झटबाट अब मुक्ति पाइने भएको छ ।

यातायात व्यवस्था विभागले यसका लागि भीआरएस सिस्टम लागू गर्न लागेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

भीआरएस सिस्टम लागू भएपछि नयाँ सवारी दर्ता, नवीकरण, जाँचपास, प्रदूषण जाँचपास र रुट परमिटका लागि आवेदन, पैसा तिर्नेलगायतका कामका लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्ने घिमिरेले बताए ।

यसअघि पनि भीआरएस सिस्टम भएपनि त्यति आधुनिक थिएन । विभागले साउनदेखि आफ्नो वेबसाइटमा यो प्रणाली जोडेपछि सेवाग्राहीले यो सेवा लिन पाउनेछन् ।

यसका लागि विभागले छुट्टै मोबाइल एप बनाइरहेको छ । यातायात व्यवस्था विभागले सन् २०१३ को अक्टोबरमा भीआरएस बनाउन भारतको मद्रास सेक्युरिटी प्रिन्ट्र्सलाई ठेक्का दिएको थियो ।

मद्रास सेक्युरिटी प्रिन्ट्र्सले लाइसेन्ससम्बन्धी प्रणाली (इडीएल)को काम सकेपनि भीआरएसको काम भने सकेको थिएन । कम्पनीले २०७२ मा भीआरएसको काम सकेपनि देश संघीयतामा गइसकेकाले अञ्चल मोडलको भीआरएसलाई प्रदेश मोडेलमा रूपान्तरण गर्नु परेको थियो ।

हाल विभागले ११ वटा यातायात कार्यालयमा भीआरएसका लागि सिस्टम सेट गरिसकेको घिमिरेले जानकारी दिए । विभागले साउनदेखि यो सिस्टम लागू गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार