मुख्यमन्त्री नेपालीको राजनीतिक यात्राः कारागार, अध्ययनशीलता र निरन्तरता

२०७८ जेष्ठ २९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली राजनीतिमा अत्यन्तै क्रियाशील हुनुहुन्छ । सङ्घीयता आएपछि मुलुकमा पहिलो पटक सम्पन्न प्रदेशसभाको निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ (क)बाट नेपाली विजयी भएर गण्डकी प्रदेशसभा सदस्य हुनुभयो । उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई पराजित गर्दै प्रदेशसभामा आफ्नो स्थान सुरक्षित गराउनुभएको थियो । विसं २०७४ मा भएको निर्वाचनमा कांग्रेसका नेपालीले १७ हजार ६८३ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार न्यौपानेलाई ३८२ मतान्तरले पराजित गर्नुभएको थियो ।

उहाँका बुवा गोवद्र्धन शर्मा पोखरेल राणाशासनका विरोधमा सधैँ क्रियाशील हुनुहुन्थ्यो । कांग्रेसमा लागेर शर्मा तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत हुनुभएको थियो । एकहत्तर वर्षीय नेपालीको जन्म तनहुँमा भए पनि राजनीतिक थलो भने नवलपरासी भयो । विसं २०० मङ्सिर १३ गते तनहुँमा द्रौपदा शर्माका कोखबाट जन्मिनुभएका नेपालीका चार दाजुभाइमध्ये जेठा दाजु रामचन्द्र पोखरेल पूर्वसांसद र साहिँला भाइ डा जगदीशचन्द्र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्थ्यो भने कान्छा भाइ अमेरिकामा बस्दै आउनुभएको छ ।

नेपालीको राजनीतिक थलो नवलपरासी भए पनि विद्यार्थी राजनीति भने तनहुँबाटै शुरु भएको थियो । प्रजातान्त्रिक समाजवादक हिमायती नेपालीलाई निष्ठा र त्यागको पर्यायका रुपमा लिने गरिएको छ । विद्यार्थीकालदेखि नै उहाँमा राजनीतिक चेत थियो । उहाँ विसं २०२८ मा कांग्रेस तनहुँको जिल्ला सदस्यसमेत बन्नुभयो । प्रजातान्त्रिक आन्दोलनकै क्रममा विभिन्न समयमा गरी उहाँ ६ पटक कारागार पर्नुभएको छ । विसं २०३५ को विद्यार्थी आन्दोलनमा उहाँले कास्की कारागारमा दुई पटक गरेर पाँच महिना बिताउनुभएको छ । विसं २०३७ को जनमतसङ्ग्रहका क्रममा फेरि आठ महिना कास्की कारागारमै बस्न बाध्य हुनुभयो । विसं २०३८ मा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेप्नुभएका उहाँले अर्को दुई महिना कारागारमा बिताउनुभयो ।

देशमा बहुदलीय व्यवस्था माग्दै विसं २०४२ मा कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । तत्कालीन नवलपरासीबाट सत्याग्रहमा सक्रिय नेपालीले परासी–कपिलवस्तु कारागारमा गरेर एक वर्ष कारागार जीवन बिताउनुभयो । विसं २०४६ को जनआन्दोलनमा परासी कमाण्डर नेपाली नजरबन्दमा पनि पर्नुभयो । नजरबन्दपछि नेपालीलाई पाल्पाको कारागारमा नौ महिना राखियो ।

भारतको दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक उहाँले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानूनमा पनि स्नातक उत्तीर्ण उहाँले प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिनुभएको थियो। त्यसपछि उहाँ माध्यमिक शिक्षाका लागि भारत पुग्नुभएको थियो । माध्यमिक शिक्षा विहारको नरकटियागञ्जबाट पूरा गर्नुभएका नेपाली दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक गरेपछि नेपाल फर्किनुभएको थियो।

विसं २०४८ को कांग्रेस अधिवेशनपछि उहाँ निरन्तर चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति हुनुभयो । विसं २०४८ को आमनिर्वाचनमा उहाँ नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुनुहुन्थ्यो । विसं २०६२÷६३ को जनआन्दोलनमा उहाँले नवलपरासीको नेतृत्व सम्हानुभएको थियो । त्यस बेला पनि उहाँ कारागारमा बस्नुभयो । कांग्रेसको १२औँ महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा उहाँ ३२५ मतले पराजित हुनुभएको थियो । उहाँ त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा होमिनुभएको थियो ।

मुलुक सङ्घीयतामा गएपछि साविकको नवलपरासी विभाजन भएर दुई जिल्लामा परिणत भयो । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा रह्यो भने पूर्व नवलपरासी गण्डकी प्रदेशमा रहन पुग्यो । मुलुकको कान्छो जिल्लाको पहिचान बनाएको नवलपुरबाट प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशसभामा पुगेपछि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुनुभयो । साठी सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सदस्य छन् । एमाले माओवादी गठबन्धनको बहुमत आएसँगै कांग्रेस सङ्ख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो । मुख्यमन्त्री नेपाली यसअघि गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी संसदीय दलको नेताका रुपमा चुनिनुभएको थियो ।

प्रदेशसभाका कामकारबाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उहाँ जहिल्यै क्रियाशील रहनुभएको थियो । बजेट बाँडफाँटमा होस् वा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सदस्यलाई गरिएको विभेदका विषयमा होस्, उहाँले प्रदेशसभाम आवाज उठाउँदै सरकारलाई सही दिशामा हिँड्न बाध्य बनाउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार