- महेन्द्र बुढाथोकी
झापा – बिहानको ४ बजेको छ । ‘ठकुर्नी दिदी’ यतिबेला अगेनामा आगो ठोस्दै छिन् ।
उनको दिनचर्या भालेको डाकसंगै सुरु हुन्छ । उनको झुपडीसंगै टासिएको सानोतिनो चिया पसल छ ।
गाउँका बुढापाका-जान्नेसुन्ने ठकुर्नीको दोकानमा चियाको चुस्की लिॅदै दुनियाभरका गफ चुट्न बिहानै भेला हुन्छन् ।
उनको पसलमा आउने ग्राहकको गफ ‘राजनीतिक’ हुन्छन ।
‘फलानो पार्टीले यस्तो गर्यो, चिलानो पार्टीले यो गर्यो’ ।
उनको अक्कलमा आउदैन, देशको प्रमुख को हो, के भईरहेको छ देशमा ?
तर, ठकुर्नी ‘बेफिकर’ चियामा चिनी घोल्छीन । ग्राहकको ‘फर्माइस’ अनुसार उनि टकराउछिन कडा चिया, फिक्का चिया।
भेला हुनेहरुलाई चियाले स्वागत गर्नु पहिलो उपक्रम हो । हुनत उनको वास्तविक नाम कसैलाई था छैन, तर समाजले उनलाई ‘ठकुर्नी दिदि’ को पहिचान दिएको छ ।
दुखसंग रातदिन पौठेजोरी खेल्दै संघर्षमय जीवन जीउने यी पात्र ठकुर्नी अरु कोही नभएर दुई दशकदेखि बॅासबारी बजारमा कुनै साहुमहाजनको टहरो भाडामा लिएर सॅाझबिहान छाक टार्न दुखेसो गर्ने एकल महिला हुन् ।
‘ठकुर्नी दिदि’ मान्छेको स्वाद र रुचि अनुसार फटाफट रु ५ मा फिका चिया र रु १० मा दुधवाला कडकदार चिया सर्व गर्छिन् ।
स्वाद निकै मिठो हुन्छ । मिठो त मिठो, यो दुनियामै सस्तो छ यीनको चिया नास्ताको ‘मेन्यु’। अन्त २५/३० पर्ने चनाभुजाको नास्ता फुर्काउन सक्नेले रु १० मै बजाउछ।
उनको फुर्के स्वभावको फाईदा लिनेले कहिलेकाहिॅ बिच्केको अवस्थामा बेफाईदा नि व्यहोर्नु पर्छ । किनभने, उनलाई हिसाब किताव राख्न राम्रो आउछ ।
गॅाउभरीको बॅाकि-बक्यौताको हिसाब अटाउॅने उनको दिमागको ‘डाटाबेस’ विल गेट्सको माईक्रोसेफ्ट कम्पनिको कम्प्युटरको भन्दा कम छैन । दु:खको कुरा कहिलेकॅाहि उनको हिसाबकिताब फर्स्यौट मुखामुखको झगडासम्म पुगेर टुंगिन्छ ।
ठकुर्नी न कुनै जमिन्दार ठाकुरकी बेगम साहिबा हुन्, न गॅाउलेकी मालिकन् हुन्। न उनको चरित्र पुराना हिन्दी चलचित्रमा देखिने ठकुरायनको कथासॅग मिल्छ । न त उनको हवेलीका नोकरचाकरको सातो लिन पाउॅछिन् ।
न उनको पुर्पुरोमा खटियामा उपरखुट्टी लगाएर आसपासे हुक्के-बैठकेलाई अर्हाइखटाइ गर्ने नै लेखेको छ।
उनको तग्दिरमा त पसिनाको मसिले दु:ख मात्र लेखेको रहेछ। भाग्यले उनको साथी र सारथी बन्ने जिम्मा दु:खलाई दिएछ ।
मानिसले जीवन जीउने बाध्यकारी नियमको पालना गर्नैपर्छ । त्यै बाध्यकारी जीवन जीउने एक साहसी नारी हुन् ‘ठकुर्नी दिदी’ ।
छोराछोरी वरिपरि घरभरि हुने एकल महिलालाई त जीवन जीउने केहि आधार हुन्छ, केहि अर्थ हुन्छ ।
सन्तानको मुख हेरेर उनीहरुको खुसीका निम्ति आफूलाई समर्पण गर्दाको मजामा पनि जीवन कट्छ तर यस कथाकी नायिका नितान्त एक्लि छन् । बेसाहरा छिन, असाहय छिन् ।
छोराछोरी नातिनातिना अक्कलझुक्कल पाहुना भएर मेजमान् खान आएभन्दा उप्रान्त यीनको परिवारको सदस्य संख्या सदैव एक नै हो। तर, उनको यो जिन्दगीसंग चुतौतिपूर्ण युद्ध लडिरहेकी छन् ।
उनले हार मानेकी छैनन् । उनमा कुनै मनोचिकित्सीय संकेत पनि देखिदैन। सकभर हासीखुसी नै देखिन्छिन् ।
ठकुर्नीले रेल्लाठट्टामा समय काट्ने सजिलो उपाए पछ्याकी छन् । ‘भेज-ननभेज’ दुबैखाले रेल्लाठट्टामा ठकुर्नी प्रत्यक्ष-अप्रत्यक्ष सहभागी बन्नैपर्ने पर्छ !
यो उनको नियमित आकस्मिता हो ।
बिना प्रसंग उठेका छेडछाडको उनी डटेर सामना गर्छिन् । उनको बोली भने गज्जबको सुनिन्छ ।
मातृभाषा मैथलीको प्रभाव बोकेको, नेपाली श्रुतिरम्य छ ।
वचव,पुरुष लिॅग आदारसंग मेल नखाने ठकुर्नी दिदीको बोली झालमुरी झै छ । चटपटे स्वादको छ ।
बानी परेकाले त मजाले पचाउॅछन्, न परेकालाई पिरोपिरो, टर्रोटर्रो लाग्छ ।
ठकुर्नी दिदी सामाजिक प्राणी हुन् । न यस ठाॅउमा उनको घर छ न परिवार तर पनि सामाजिक दायित्वको ख्याल उसलाई राम्रोसॅग थाहा छ । कुनैपनि समाजिक काममा कोहि चन्दा सहयोग माग्दै आयो भने कुनै बाहानाबाजी नगरी अगि सर्ने बानी प्रेरणादायी छ ।
गॅाउघर हुने बिहेबटुलो, पुजाआजामा निम्तो आएसम्म ससम्मान पुग्ने बानी छ । मरिमराउको ख्यालखवर गर्ने ; सहानुभूति दर्शाउने , सकभर उपस्थित हुने उनका सामाजिक गुण हुन् ।
सारंशमा ठकुर्नी दिदीको बॅासबारीको बसाई व्यपारी व्यवसायीको भन्दा जिम्मेवार सामाजिक सदस्यकै रुपमा रहेको छ । उनलाई पनि यो समाजको आडभरोसा छ ।
आफ्नो सामाजिक दायित्व सकेसम्म पूरा गरेकी नै छिन् ।
हातखुट्ट चलुन्जेल त उनले सबैको सेवा गरेकै छिन्, कुनै दिन उनिप्रति समाजको दायित्व आउॅछ, त्यो दिन समाजको मानवीयता र नैतिकताको अग्नीपरीक्षा अवस्य हुनेछ ।