गौरादह नगरपालिकामा दिनभर तनाब, जनप्रतिनिधिलाई हुलहुज्जतको प्रयास

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा – गौरादह नगरपालिकाको कार्यालय आज दिनभर जसो तनावपूर्ण रह्यो । परिवर्तनका लागि युवा अभियानले नगरपालिका कार्यालय परिसरमा हुलहुज्जतको प्रयास गरेपछि तनावपूर्ण अवस्था सृजना भएको हो ।

गत वर्षको कोरोना महामारीमा नगरपालिकाद्वारा राहतका लागि खरिद र संकलन गरिएको चामल गुणस्तरहिन भएको र त्यसलाई नष्ट गरिएको विषयलाई लिएर सो समुहले आवाज उठाउदै आएको छ ।

भण्डारण गरिएको चामल कुहिएपछी नगरपालिकाले क्षमा माग्दै आफ्नो व्यवस्थापकीय कमजोरी रहेको स्वीकार गरिसकेको छ। तर, सो समुहले चामल नष्ट गरिएको विषयबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको थियो ।

चामल नष्ट गरिएको विषयबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको सो समूहले विज्ञप्ति जारी गर्दै कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको थियो । बिहीवार तालावन्दी गर्ने भनिए पनि कडा सुरक्षाका कारण तालावन्दी हुन सकेन ।

सोहि समूह आज पनि नगरपालिका पुगेको थियो । सामाजिक संस्था भनिएको युवा अभियानले सामाजिक सञ्जालबाट अमर्यादित भाषामा जनप्रतिनिधिलाई जुत्ताको माला लगाएर गौरादह परिक्रमा गराउने लेखेपछी सो समुहको प्रतिकारमा स्थानीय उत्रेका थिए । सामाजिक सञ्जालबाट अमर्यादित विषय लेखेको र भाटासम्म हान्ने लगायतका विषयले नगर परिषरमा विवाद भएको हो ।

जनताले मत दिएर चुनेका जनप्रतिनिधिलाई जुत्ताको माला लगाउने, कालो मोसो दल्ने भनेपछि स्थानीय प्रतिकारमा उत्रिनुपरेको स्थानीय सूर्यभक्त सिटौला बताउछन । ‘जनप्रतिनिधिले गल्ति गरेमा कानुन बमोजिम कारबाही गर्ने बाटो छ । तर, जुत्ताको माला लगाउने, भाटा हान्ने विषय गलत हो । उनले थपे- ‘राहत दिनुपर्ने चामल विगार्नु हदैसम्मको कमजोरी हो।’

नगरपालिकाले गल्ति स्वीकार गरिसकेको अवस्थामा समेत कोरोना महामारीको बेला हुलहुज्जत सहित नगरपालिकामा तालाबन्दी गर्न खोज्नु गलत रहेको गौरादह उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवनकुमार राई बताउछन ।

उनले भने – ‘नगरपालिकामा तालाबन्दी गर्नु बान्छनीय होईन। कोरोना महामारीका बेला नगरपालिकाले स्वास्थ्य शाखा र दमकल सेवा मात्र प्रदान गरिरहेको अवस्थामा तालाबन्दी गरेर कामकाज ठप्प गर्नु आत्मघाती हो।’

यता अभियानका सल्लाहकार केदार खड्काले नगरप्रमुख रोहितकुमार साहले जानाजान मुठभेडको अवस्था सृजना गरेको बताए। ‘जनताको खबरदारीलाई सस्तो सम्झिए जनप्रतिनिधिहरुले ठुलो मूल्य चुकाउनु पर्नेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार