विप्लवका दाइ वीरजंग धरौटी बुझाएर छुटे

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर उनी छुटेका हुन् ।

चन्दलाई जिल्ला अदालत नवलपरासीले २२ भदौ २०७७ मा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनी धरौटी नबुझाइ जेलमा बसिरहेका थिए ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारका लागि चितवन लगिएको थियो । चन्द्रबहादुर पक्राउ पर्नुअघि पार्टीको मध्यकमाण्ड इञ्चार्ज थिए ।

विप्लव समूह हिंसा त्यागेर मूलधारको राजनीतिमा आएसँगै सरकारले सबैको मुद्दा फिर्ता लिने समझदारी गरेको थियो । त्यसपछि पार्टीले थुनामा रहेका सबै कार्यकर्ताहरु नछुटेसम्म धरौटी माग भएका नेताहरु पनि ननिस्किने नीति लिँदै आएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि धरौटी बुझाएर पार्टीले नेता, कार्यकर्ताहरुलाई छुटाउन थालेको छ ।

बिहीबार पनि धरौटी बुझाएर जिल्ला कारागार, संखुवासभाबाट नेता माइला लामा थुनामुक्त भएका थिए । विप्लवले दुई पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर नेता, कार्यकर्ता रिहाइको प्रक्रिया यथाशीघ्र टुंग्याइदिन आग्रह गरिसकेका छन् ।

विप्लवका दाइ वीरजंग रिहा भएपछि महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालगायतका केन्द्रीय नेताहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार