बुटवलमा तीन घन्टाभित्र तीन कोरोना संक्रमितको मृत्यु

२०७७ चैत्र ३०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवलमा सोमबार बिहान तीन घन्टाभित्रमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल बुटवलका सूचना अधिकृत डाक्टर विष्णु गौतमका अनुसार बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार बिहान तीन घन्टाभित्रमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी– ५ की ७९ वर्षीया महिलाको बिहान ९ बजेर ५० मिनेटमा, वाणगंगा– ३ कपिलवस्तुका ७९ वर्षीय पुरुषको ७ बजेर १४ मिनेटमा र तिलोत्तमा– १ रुपन्देहीकी ७१ वर्षीया महिलाको ७ बजेर २५ मिनेटमा मृत्यु भएको छ ।

अर्घाखाँचीकी महिला यही चैत २७ गते कोभिड– १९ पजिटिभ रिपोर्ट आएपछि २७ गतेबाट अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । उपचारका क्रममा सोमबार बिहान ९ बजेर ५० मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, कपिलवस्तुका पुरुष पनि २७ गते कोभिड– १९ देखिएपछि २७ गतेबाट नै भर्ना भएका थिए । उनमा ज्वरो, निमोनिया, मधुमेह र श्वास–प्रश्वासमा समस्या थियो । उनको उपचारका क्रममा बिहान ७ बजेर १४ मिनेटमा मृत्यु भएको थियो ।

त्यस्तै रुपन्देहीकी महिला २१ गते कोभिड– १९ रिपोर्ट पजिटिभ आएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । उनको बिहान ७ बजेर २५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस अस्पतालमा आइतबार बिहान पनि एकजना कोरोना संक्रमितको मृत्यु भएको थियो । सुनवल– ५ नवलपरासीका ७९ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार