sajalsandesh

इन्द्रपुर खानेपानीलाई लेखापरीक्षण र साधारणसभा गर्न निर्देशन

  • हरिप्रसाद कोइराला

सुन्दरहरैचा (मोरङ), ३० चैत। नगर विकास कोषले मोरङको सुन्दरहरैचा–१० स्थित इन्द्रपुर साना सहकारी खोपानी तथा सरसफाई उपभोक्ता संस्थालाई लेखापरीक्षण गरी यथासक्य चाँडो साधारण सभा गर्न निर्देशन दिएको छ। स्थापनाकाल देखि हालसम्म साधारण सभा नभएको भन्दै कोषले अबिलम्व साधारणसभा गर्न निर्देशन दिएको हो।

कोषले चैत २४ गते पत्र लेखेर स्थापनाकालदेखि हालसम्म साधारण सभा र अधिवेशन हुन नसकेको अवस्थामा कोषको ध्यानाकर्षण भएको जनाएको छ। पत्रमा पटकपटक लेखापरीक्षण र साधारण सभा गर्न पत्राचार गर्दा पनि बेवास्ता गर्नुको कारण समेत उल्लेख गर्न भनिएको छ।

२०६२ सालमा स्थानीय उपभोक्ताले कूल लागतको ५ प्रतिशत रकम जम्मा गरेर इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गठन गरेका थिए। नगर विकास कोषको ऋण सहयोगमा आयोजना २०७२ मा सम्पन्न भएको हो। तत्कालिन इन्द्रपुर गाविसका उपभोक्तालाई खानेपानी वितरणका लागि गठित आयोजनाले पानी वितरण गरेको ५ वर्ष पूरा भयो। तर त्यस यता न त संस्थाको लेखापरीक्षण भएको छ न त साधारण सभा नै भएको छ। खानेपानी आयोजनाका अध्यक्ष केदार गुरागाँईले संस्थाको लाखौं रकम हिनामिना गरेको स्थानीयका आरोप छ। धाराबाट पानी वितरण गरेको ५ वर्ष भयो।

६ हजार उपभोक्ताले तिरेको रकमको हिसाव किताब छैन्। लेखा परीक्षण भएको छैन्। साधारण सभा गरेर नेतृत्व हस्तान्तरण गर्नु पर्ने कुरा उठ्न थालेको ५ वर्षभयो। तर, अध्यक्ष गुरागाई लेखापरीक्षण गरेर साधारणसभा गर्ने मनस्थितिमा देखिनु भएको छैन्। स्थानीयले गुरागाईले लाखौं रुपियाँ अनियमितता गरेकोले साधारणसभा बोलाउन आलटाल गरेको आरोप समेत लगाएका छन्। तत्कालिन अवस्थामा सर्वपक्षीय समिति गठन गरिएको भए पनि अहिले अध्यक्ष बाहेकका पदाधिकारी र सदस्यहरू कार्यालय पुग्दैनन्। गुरागाईकै खेलोमेलो छ। हामी किन जानु ? एक सदस्यले भने ।

तदर्थ समितिले भर्ति गरेका कर्मचारीको नियुक्तिमा पनि प्रश्न उठ्न थालेको छ। हरेक वर्ष करोडौंको आर्थिक कारोवार हुने खानेपानी आयोजनालाई गुरागाँईले प्राइभेट लिमिटेड जसरी सञ्चालन गरेको असन्तुष्ठ सदस्यहरूको भनाई छ।

यता संस्थाका अध्यक्ष केदार गुरागाइँले हरेक आर्थिक वर्षमा लेखापरीक्षण गरिएको दावी गर्नुभयो । साधारण सभा गर्न भने नसकिएको उहाँको भनाई छ। उहाँले २०७८ को जेठ पहिलो साता साधारण सभा गर्ने तयारी भइरहेको बताउनु भयो। अध्यक्ष गुरागाइँले भन्नुभयो– ‘१२ करोड नगर विकास कोषको ऋण छ, यो ऋण तिर्ने दायित्व हामी सबैको हो।’

तर, संस्थाका सचिव मित्रसेन योञ्जनले सर्वदलीय संरचनामा संस्था गठन भए पनि हाल सम्म अध्यक्षले बैठक नबोलाएको बताउनुभयो। अध्यक्षले एकलौटी ढंगबाट संस्था चलाउँदा संस्थामा भ्रष्टाचार भएको विषय बाहिर आयो। हामीले अध्यक्षलाई सोध्यौँ तर अध्यक्षले जवाफ नदिएपछि बैठकमा जान छोडेको सचिव योञ्जनको भनाई छ।

उता, सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले नगर विकास कोषले २०७७ चैत २४ गते नगरपालिकालाई पनि पत्र पठाएर साधारण सभाका लागि समन्वय गर्न अनुरोध गरेको बताउनुभयो। उहाँले भन्नुभयो– स्वायत्त संस्थालाई हामीले हस्तक्षेप गर्न मिल्दैन। तर, बेलामा लेखा परिक्षण गरेर साधारणसभा गर्नु हरेक संस्थाको नियमित काम हो। नियमित काम पनि गर्न नसक्नु नेतृत्वको कमजोरी हो।

२४ करोड रुपैयाँको लागतमा निर्माण भएको आयोजनाले ४ लाख ५० हजार लिटरको ओभरहेड ट्याङ्कीबाट दैनिक पानी वितरण गरिरहेको छ। ६ हजार ५ सय उपभोक्ता रहेको खानेपानी आयोजनालाई एसियाली विकास बैंकले सहयोग गरेको छ।

Facebook Comments
ismt college
dish home