sajalsandesh

वडाअध्यक्ष हुन त केदार कटुवाल जस्तो !

झापा – भनिन्छ ईच्छशक्ति भयो भने जुनै काम गर्न पनि असम्भव भन्ने हुदैन। यस्तै उदाहरणीय कार्य गरिरहेका छन् कमल गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष केदार कटुवाल। उनी कमल गाउँपालिकामा नेपाली कांग्रेसबाट विजयी हुने एक्लो वडाअध्यक्ष हुन्।

गाउँपालिकाका ७ वटा वडा मध्ये उनले वडा नम्बर १ मा विजयी हासिल गरेर कांग्रेसको बिउ जोगाएको स्वयम् कांग्रेसीजनहरु बताउछन।

वडाअध्यक्ष केदार कटुवाल वडामा मात्र नभइ समग्र गाउँपालिकामै विकासप्रेमी नेताका रुपमा परिचित छन्। उनी वडाको विकास निर्माण होस् वा वडामा रहेका अन्य कुनै समस्या तुरुन्त अग्रसर भइहाल्छन्।

सार्वजनिक विदाको दिन समेत वडावासीलाई काममा समस्या नहोस भनेर उनले काम गर्ने गरेका छन्। वडावासीसंग गर्ने व्यवहार र कामले खुशी प्रकट गर्छिन स्थानीय सबिता दाहाल। ‘यो काम हुदैन र सक्दिन कैले भन्नु हुन्न’ उनले भनिन ‘हाम्रो समस्यामा उहाँ हमेशा हामी संगै उभिनुहुन्छ।’

रत्तनचौंनमा जबरजस्ती खोलिन लागेको इँटाभट्टाका विरुद्ध वडाअध्यक्ष कटुवाल निर्भिकताका साथ् स्थानीयसंग उभिए। स्थानीयले गरेको पत्रकार सम्मेलनमा उनले बोलेको कुरा अहिले पनि सामाजिक संजालमा ‘भाईरल’ छ। उनले भनेका थिए- यस ठाउँमा स्थानीयको असहमति हुदाँहुदै इँटाभट्टा त् के औषधि फ्याक्ट्री समेत खोल्न मन्जुर म हुन्न।’

वडाअध्यक्ष केदार कटुवाल

उनको यस अभिव्यक्तिबाट गैर कांग्रेसीहरु समेत प्रभावित भएका थिए।

जननिर्वाचित भएर आएसंगै केही न केही नयाँ कार्य गर्दै आएका वडाअध्यक्ष कटुवालको पछिल्लो समय सक्रियता बढेर आएको छ। उनले सरकारी सेवा घरमै दिने उद्देश्य सहित घरदैलोमै सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएका छन। नागरिकलाई घरमै सरकार आएको महसुस गराउन यस कार्यको थालनी गरेको उनि बताउछन।

आइतबारदेखि वडाका प्रत्येक टोलमा पुगेर अशक्त नागरिकका लागि सामाजिक सुरक्षाभत्ता वितरण गरिएको अध्यक्ष कटुवालले बताए। निर्वाचनका बेला नागरिक सामु गरेको बाचा अनुसार घरघरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको उनले दाबी गरे।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा अध्यक्ष कटुवाल, वडासचिव र बैंकका कर्मचारी सहितको टोली घरघरमा पुगेको हो।

आफ्नै घरमा सामाजिक सुरक्षाभत्ता पाउँदा नागरिक हर्षित देखिन्छन।

‘पहिला वडा कार्यालय सम्म पुग्न निकै असजिलो हुन्थ्यो। एकजना साथमा लगेर जानुपथ्र्यो। अहिले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिए । निकै खुसी लाग्यो ।’सरुंगपाडाका एक जेष्ठ नागरिकले भनिन्, ‘हामीले भोट दिएर जिताएका प्रतिनिधिले हाम्रो सजिलोका लागि गरेको कामबाट हामी खुसी भएका छौं। यो धेरै राम्रो छ। जनप्रतिनिधिहरुले यस्तै काम गर्दै जाउन।’

Facebook Comments
ismt college
dish home