जसपा माग पूरा गर्न प्रधानमन्त्रीको चासो

२०७७ चैत्र १२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमडाैं, १२ चैत । जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ। सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका शीर्ष नेताहरूसँग कुराकानी गरेका छन्।

जसपा नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो। ‘मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो’, महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीसँगको भेटमा कार्यदलका सबै सदस्य उपस्थित थिए। कार्यदलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराइ छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। कुराकानीमा प्रधानमन्त्री, जसपा अध्यक्ष महन्थ ठाकुर र महतो सहभागी थिए। प्रधानमन्त्रीसँग सहकार्य गर्न नचाहने जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन्। भट्टराई र यादवलाई छलफलबारे जानकारी गराइएको महतोले बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार