प्रविण बास्तोला मृत्यु प्रकरणः मिसिलमा अर्कैको फोटो राख्ने प्रहरी निरीक्षक पोख्रेलसहित चार आरोपी अनुसन्धानमा तानिए

मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उद्धव पोख्रेल नै प्रहरीको अनुसन्धानमा तानिएका छन् ।

गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको

२०७७ फाल्गुन ११, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मोरङ । मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उद्धव पोख्रेल नै प्रहरीको अनुसन्धानमा तानिएका छन् ।

गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरुसँगै सुत्न गएका बास्तोला पुस ५ गते बिहान ११ बजेतिर गोदावरी अस्पतालमा मृत रहेको खवर परिवारले पाएको थियो ।

साथीहरुसँगै खानपिन गरेर सँगै गएका बास्तोलाको रहस्यमय मृत्यु भएपछि उर्लाबारी प्रहरीले बास्तोलाका साथीहरु उर्लाबारी(६ का ३१ वर्षीय राजेश रणपहेली, रिकेश शिवा भनिने राकेश दर्जी र दिपेश पौडेललाई प्रतिवादी बनाएर कार्वाही अगाडि बढाएको थियो ।

तर सरकारी वकिलको कार्यालयले भने प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात प्रहरीले बुझाएका प्रमाण र तथ्यका आधारमा मुद्दा चलाउनु नपर्ने भन्दै फर्काएको थियो ।

प्रहरीले तीन जनालाई पक्राउ गर्दै घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै माघ २ गते उनीहरुलाई हाजिरी जमानीमा छाडिदिएको थियो ।

तर उनीहरुलाई छाडिएको एक महिना पनि बित्न नपाउँदै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलको अनुसन्धान प्रक्रियामा नै त्रुटि रहेको आफन्तले फेला परेपछि पोख्रेलसहित राजेश रणपहेली, रिकेश शिवा भनिने राकेश दर्जी, दिपेश पौडेल र मेहरमान दर्जी पुनः अनुसन्धानको दायरामा परेका छन् ।

यसरी व्युँतियो बास्कोटा मृत्यु प्रकरण

गत आइतबार मृतकका परिवार र केही स्थानीयको अगुवाईमा अनुसन्धान प्रक्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृतक बास्तोलाको मिसिल फाइल देखाउने क्रममा मिसिलमा मृतक बास्तोलाको फोटो हुनु पर्नेमा अन्य असम्बन्धित व्यक्तिको फोटो रहेको उनीहरुले पाएपछि प्रहरीले घटनाको अनुसन्धानमा लापरवाही गरेको तथ्य सार्वजनिक भएको हो ।

प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीय आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् । मिसिलमा झट्ट हेर्दा मृतक बास्तोला जस्तै देखिने अन्य व्यक्तिको फोटोसहित तीन वटा फोटो समावेश गरिएको छ ।

जहाँ मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको छ । मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री नभएको र प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको आफन्तले दाबी गरेका छन् । फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाएपछि आरोपीहरुलाई मुद्दा नचलाएको मृतक प्रविणका बुबा प्रेम बास्तोलाले बताए ।

प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै उर्लाबारीस्थित आइतबार दिनभर प्रदर्शन गरेका आफन्त र स्थानीयले सोमबार पनि इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि प्रदर्शन गरे पनि अनुसन्धान प्रक्रियामा कसरी अगाडि बढ्ने भन्ने सहमति हुन सकेन ।

बरु उल्टै प्रहरीले झनै दवाब सृजना गरेको भन्दै न्यायको माग गर्न मंगलबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ जाने तय भएको मृतककी बहिनी दुर्गा बास्तोलाले बताइन् ।

प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको परिवार र स्थानीयको आरोप छ । पोष्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै प्रहरीले अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै बास्तोला परिवार सडकमा आउनु परेको स्थानीयको भनाइ छ ।

मृतक बास्तोलाको परिवार भने आइतबारदेखि प्रहरी निरीक्षक पोख्रेलको राजीनामा, आरोपीहरुलाई कार्वाहीको माग र मृतक प्रविणको न्यायका लागि संघर्षरत रहँदै आएको छ ।

डीएसपीको नेतृत्वमा छानविन समिति

अनुसन्धान प्रतिवेदनमा फोटो परिवर्तन भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले मिसिलमा राखिएको तीनमध्ये एउटा फोटो बेग्लै परेको देखिएपछि तत्काल परिवर्तन गरी छानविनका लागि टोली बनाइएको बताए ।

तथ्यमा फरक पर्ने गरी प्रमाण संकलन गरेको घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान भएको देखिए कारवाही गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार