sajalsandesh

उर्लाबारीका प्रविन बास्तोलाको हत्या कि भवितव्य ?

परिवारको आरोपमा प्रहरीको खण्डन

४ पुस २०७७ मा मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोला कसैको फोन आएपछि घरबाट निस्किए । उनी दिउँसो करिब ३ बजेतिर उर्लाबारी चोकतिर गएको बुबा प्रेम बास्तोलालाई याद छ । उनले कस्काे फाेन आएकाे थियाे, केही भनेनन् ।

प्रविन घरबाट निस्किएकाे १२ घन्टापछि परिवारलाई प्रविनको मृत्यु भएको खबर आयो । दिउँसो ठीकठाक निस्केको छोरोको मृत्यु भएको खबर परिवारले विश्वासै गर्न सकेन । परिवारलाई जानकारी नै नदिई शवलाई अस्पताल लगिएपछि उनीहरु थप सशंकित भए ।

प्रविनको मृत्यु नभई हत्या भएको परिवारले दाबी गरेका छन् । घटनामा शंकास्पद देखिएका उर्लाबारी–६ का रिकेस सिवा भनिने राकेश दर्जी, दीपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली लगायतलाई प्रहरीले पक्राउ पनि गरेको थियो ।

तर, उनीहरुलाई केही दिनपछि नै थुनामुक्त गरिएको छ ।

प्रविनका परिवारले भने किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिनमा चासो नदेखाएको आरोप लगाएको छ । उल्टै घटनाको बारेमा जानकारी माग्दा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले थर्काउने गरेको परिवारको भनाइ छ ।

यही विषयमा केही दिनयता स्थानीयहरुले इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गर्दै आएका छन् । प्रविनका भाइ दीपक बास्तोलाका अनुसार प्रहरीले दोषीलाई उन्मुक्ति दिन अनुहार नै नचिनिने व्यक्तिको तस्बिर मुचुल्का मिसिलमा संलग्न गरेको आरोप लगाए ।

मृतक फेला पर्दा उनको गलामा सिक्री नभए पनि अहिलेको तस्बिरमा चाँदीको सिक्री लगाएको भेटिएको दीपकले बताए । यसले दोषीसँग प्रहरीको मिलेमतो रहेको र उनीहरुलाई प्रहरीले उन्मुक्ति दिन खोजेको आरोप परिवारले लगाएका छन् ।

‘दाइको मृत्युको कारण सोध्दा हामीलाई पोस्टमार्टम रिपोर्ट आएन भनेर प्रहरीले १२ दिन झुलायो, पछि पोस्टमार्टम रिपोर्टमा मदिराको ओभरडोजले मृत्यु भएको जनाइयो । हामीले विश्वास गर्न सकेनौं र भिसेरा टेस्ट गरायौं । त्यसमा ‘नो अल्कोहल, नो पोइजन’ कारण आयो,’ दीपकले भने, ‘यसबारे प्रहरीलाई बताउँदा दुवै रिपोर्ट फेरि अस्पतालमा पठाएर अर्को रिपोर्ट निकालियो । त्यसमा फेरि निस्सासिएर मरेको कारण आयो ।’

दीपकका अनुसार प्रविनको शव हेर्दा घाँटीमा केही दाग देखिएको थियो । ‘यदि प्रविनको निस्सासिएर मृत्यु भएको हो भने साथीहरुलाई पनि केही हुनुपथ्र्यो,’ उनले भने । यसबीचमा आरोपितहरुलाई प्रहरीले छोडेको उनले बताए । प्रहरीलाई जानकारी माग्दा ‘तपाईहरुसँग प्रमाण रहेनछ, त्यसैले यो मुद्दा अघि बढाउन सक्दैनौं’ भन्ने जवाफ पाएको दीपकले जानकारी दिए ।

प्रहरीले घटनाको मिसिल देखाउँदा अर्कै व्यक्तिको फोटो राखेको देखिएपछि दोषीलाई उन्मुक्ति दिन खोजिएको हो कि भनेर अहिले आन्दोलन गर्नुपरेको उनले बताए । ‘हाम्रो माग निर्दोष नफसोस्, दोषीलाई कारबाही होस् भन्ने हो,’ उनले भने ।

यता, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले अनुसन्धानमा कुनै लापरबाही नगरेको दाबी गरे । ‘मृतक प्रविनले घटनाको अघिल्लो दिन राति स्थानीय सौरभी होटलमा साथीहरुसँग बसेर मदिरा सेवन गरेका रहेछन् । त्यहाँबाट घर जान सक्दिनँ भनेर साथीहरुकोमा सुतेका थिए । भोलिपल्ट उनी अचेत अवस्थामा भेटिएपछि स्थानीय गोदावरी हस्पिटलमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए,’ उनले भने, ‘अस्पतालको रिपोर्टमा उनको निस्सासिएर मृत्यु भएको जनाइएको छ ।’

प्रहरी निरीक्षक पोखरेलले सरकारी वकिलको रायअनुसार आरोपितलाई छाडिएको दाबी गरे । उनले घटनाको मिसिलमा अर्के तस्बिर टाँसिएको आरोप पनि अस्वीकार गरे । ‘मिसिल सरकारी कार्यालयमा छ, जसले गएर हेर्दा पनि हुन्छ । मुचुल्का गर्दा पनि मृतकको शरीरमा कुनै किसिमको चोटपटक, निलडाम केही भेटिएको छैन,’ उनले भने ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय मोरङले प्रविनको हत्या अनुसन्धानको क्रममा परिवारले उठाएका गुनासा सामाजिक सञ्जालमा आएकोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयका अनुसार घटनाका सम्बन्धमा मृतकका बुबा प्रेमप्रसाद बास्तोलाबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा राजेश रणपहेली समेत प्रतिवादी कायम गरी २२ पुसमा जाहेरी दर्ता भएको थियो । शव परीक्षण प्रतिवेदन तथा फोरेन्सिक प्रतिवेदन उपलब्ध नभएपछि पक्राउ परेका प्रतिवादीहरुलाई कानुन बमोजिम २५ दिन थुनामा राखी अनुसन्धान गर्ने अवधि पुरा भएपछि सरकारी वकिल कार्यालको निर्देशनमा २ माघमा जमानिमा उपस्थित हुने गरी छोडिएको कार्यालयले जनाएको छ ।

कार्यालयले यसबारे ९ फागुनमा थप छानबिनका लागि प्रहरी नायव उपरीक्षक (डीएसपी) मान बहादुर राईको संयोजकत्वमा छानविन समिति गठन गरी अनुसन्धान भइरहेको जनाएको छ ।

अनुसन्धानमा घटनाको तथ्यहरुमा तात्विक फरक पर्ने गरी प्रमाण संकलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैरव्यावसायिक अनुसन्धान कार्य गरेको पाइएमा सम्बन्धित अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गरिने डीएसपी राईले बताए ।

Facebook Comments
ismt college
dish home