अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

२०७७ माघ ३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ माघ । अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोरोना खोपलाई नेपालले प्रयोग अनुमति दिएको छ। सो इन्सिच्युटले विकास गरेको ‘कोभासिल्ड’ खोपलाई नेपालमा आपत्कालीन प्रयोग गर्न औषधि व्यवस्था विभागले शुक्रबार अनुमति दिएको हो। ‘कोभासिल्ड’ खोप कोभिड–१९ विरुद्ध नेपालमा प्रयोग अनुमति प्राप्त गर्ने पहिलो खोप बनेको छ।

‘खोप खरिद प्रक्रिया अगाडि बढाउन आपत्कालीन प्रयोग अनुमति आवश्यक रहेकाले यो खोपलाई अनुमोदन गरिएको हो,’ विभागका प्रवक्ता तथा वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने।

विभागले बुधबार एक सूचना प्रकाशन गरी ‘विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको नियामक निकायले दर्ता गरेका वा त्यस्ता निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपत्कालीन प्रयोगको दर्ता गर्ने प्रयोजनका लागि’ सम्बन्धित उत्पादक तथा आयातकर्तालाई विभागमा आवेदन दिन आह्वान गरेको थियो।

प्रवक्ता केसीले सरकारले हालै जारी गरेको औषधि तथा खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता २०७७ र कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोगसम्बन्धी अवधारणाअनुरूप कोभासिल्डलाई आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति दिइएको बताए। उनले तोकिएका आधारहरू पूरा गर्ने अन्य खोपलाई पनि अनुमति दिइने बताए। नेपालमा आपत्कालीन प्रयोजनका लागि औषधि तथा खोप खरिदको व्यवस्था नभएकाले त्यसलाई सहज पार्न औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत मंसिरको पहिलो साता तेस्रो संशोधन गरिएको थियो। संशोधित व्यवस्थाले कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज पारेको छ।

नेपालले खोप खरिद गर्दा मागेको मात्रामा खोप उपलब्ध गराउन सक्ने, सुपथ मूल्यमा उपलब्ध हुने, २ देखि ८ डिग्री सेन्टिग्रेड तथा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रमको चिस्यानमा राख्न सकिने तथा जुन देशमा उत्पादन भएको हो, त्यही देशमा समेत प्रयोग भएको खोप हुनुपर्ने जस्ता आधार तय गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार