मैले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भयो : माधव नेपाल

२०७७ पुष २१, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली देशलाई घाँडो भएको बताएका छन्।

काठमाडाैंको नयाँ बानेश्वरस्थित इन्द्रेणी बैंक्युटमा जनता समाजवादी पार्टीले गरेको राजनीतिक अन्तर्कियामा उनले नेपालमा बनेका तीन वटै संविधानको साक्षी आफू भएको पनि बताएका थिए।

प्रधानमन्त्रीको संसद् विघटनको कदमबारे नेपालले भने, ‘त्यसैले यस्तो अवस्था नआओस् भनेर हामीले यो पटकको संविधानमा संसद विघटन गर्ने व्यवस्था राखेका थिएनौं। ज्ञानेन्द्र आएपछि लोकतन्त्र खतरामा परेको थियो। देशमा बेहाल अवस्था आएको थियो। त्यसपछि हामीले राजा फाल्यौं। न रह्यो बास न बज्यो बाँसुरी। त्यसपछि हामीले संविधानसभाबाट संविधान बनायौं। अनि हामीले स्थायित्व खोज्यौं। स्थायित्व भनेको व्यक्ति हैन। व्यवस्था खोजेका थियाैं।’

केपी ओलीले आफू घेराबन्दीमा परें भनेर संविधान विघटन गर्नुमा कुनै तुक नरहेको पनि उनले बताए। अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सोधे, ‘के उहाँले यस्तो गर्न पाउनुहुन्छ? उहाँको अराजक र निरकुंशपनको विरोध गरिएको हो। उहाँ सच्चिनुहुन्छ भनेर विरोध गरिएको हो, तर उहाँ सच्चिनुभयो त? हामी शिर निहुराउने अवस्था पैदा उहाँले बनाउनुभयो हो।’

‘संविधानमा प्रस्ट व्यवस्था गरिएको थियो। यो प्रतिनिधिसभाले प्रधानमन्त्री चयन गर्न सकेन भने धारा ७६ अनुसार प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन। उनलाई संसद विघटन गर्ने कुनै अधिकार छैन। यो संविधानबमोजिम उनलाई यो अधिकार छैन।’

उनले संविधानको धारा–धाराको चर्चा गर्दै प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भएको बताएका थिए।

सरकारलाई स्थायित्व दिन प्रधानमन्त्रीलाई २ वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नसक्ने व्यवस्था राखिएको उनले बताएका थिए। संसद् विघटन गर्ने कुनै बाटो नरहेकाले यो कदम सम्पूर्ण कुराले असंवैधानिक भएको उनले दाबी गरे।

अन्तर्राष्टिय अभ्यासलाई ध्यानमा राखी केपीले गरेको कदम भनेको प्रति उनले आपत्ति जनाए। उनको यो कदम स्वेच्छाचारी भएको बताए।

एक जनाको सनकको भरमा, उनकै(प्रधानमन्त्री) व्याख्याको भरमा सिंगो देशको भाग्य भविष्य बिगार्न नपाउने पनि उनले बताए। त्यसैले यसविरुद्ध सबै सँगै जान उनले आग्रह गरेका थिए। उनले जसपाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओली विरुद्धको संघर्षमा हातेमालो गर्न आग्रह गरे। साथै उनले सर्वोच्चले यसबारे ठीक व्याख्या गरेर यो कदमप्रति सत्य विश्लेषण गर्नेमा आफू ढुक्क भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार