गाउँमा बिजुली बल्दा सल्लाको दियालोबाट छुटकारा

२०७७ पुष १४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिमकोट, १४ पुस । निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् ।

यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको खोल्सी गाउँका स्थानीयवासी दन्त सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ ।” छिफुन्बो लघुजलविद्युत् आयोजनाको २८ किलोवाट क्षमता भएको विद्युत्ले खोल्सीका ९०, खगाल गाउँका १००, लामााखोल्सीका ४० र गुम्बाका २० घरधुरी गरेर २५० घरधुरीले बिजुली बालिरहेका छन् ।

आधार विकास नेपाल हुम्लाले दुई गाउँपालिकाका चारवटा गाउँका सबै घरधुरीमा निःशुल्क बत्ती जडान गरिदिएको हो । अर्का स्थानीयवासी दिपक सिंहका अनुसार कोही बत्ती बाल्न सक्ने थिए, कोही थिएनन् तर आधार विकासले जडान कार्यमा लाग्ने सम्पूर्ण खर्च सहयोग गरिदिएको हो । गाउँपालिका, सङ्घीय सरकार, प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको करीब रु तीन करोडको आर्थिक सहयोग तथा स्थानीयवासीको जनश्रमदानमा २८ किलोवाटको बिजुली उत्पादन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार