sajalsandesh

चेल्सीलाई एस्टनले रोक्यो, अर्को खेलमा लेस्टरको बराबरी

काठमाडौं–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लेस्टर सिटी दुबै क्लब बराबरीमा रोकिएका छन्। चेल्सीलाई एस्टन भिल्लाले बराबरीमा रोक्दा लेस्टर सिटीले क्रिस्टल प्यालेससँग बराबरी खेलेको हो।

घरेलु टिम चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेल्यो। आफ्नो अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरीमा चित्त बुझाएको हो। चेल्सीका ओलिभर जिराउडले खेलको ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर खेलको ५० औं मिनेटमा अन्वार घाजीले गोल गर्दै एस्टन भिल्लालाई १–१ गोलको बराबरी दिलाएका थिए।

प्रिमियर लिगमै भएको अर्को खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको लेस्टरले ५८ औं मिनेटमा गोल खाएको थियो। क्रिस्टल प्यालेसका विलफ्रिड जाहाले गोल गर्दै १–० को अग्रता दिलाए। तर खेलको ८३ औं मिनेटमा हार्भे बार्नसले गोल गर्दै लेस्टरलाई १–१ गोलको बराबरी दिलाए।

बराबरीसँगै लेस्टर भने लिगको दोस्रो स्थानमा उक्लिएको छ। लेस्टरले १६ खेलबाट २९ अंक बनाएको छ। क्रिस्टल प्यालेसको भने १६ खेलबाट १९ अंक छ। एस्टन भिल्लासँग बराबरीमा रोकिएको चेल्सी १६ खेलबाट २६ अंक बनाउँदै लिगको छैटौं स्थानमा उक्लिएको छ। पाँचौं स्थानमा रहेको एस्टनको १४ खेलबाट २६ अंक नै छ।

ismt college
dish home