sajalsandesh

यसरी कंगाल बनाउँछन् ऋणीलाई बैंकले, हेर्नुहोस् नेपाल बैंक र प्राइम बैंकको बद्मासी (भिडियाे)

काठमाडौं । सुरेन्द्रलाल श्रेष्ठ कुनै बेला बिराटनगरको जुद्ध म्याच फ्याक्ट्रीका मालिक थिए । तर, बैंकको ऋणका कारण यिनको पुरानो परिचय फेरिएको छ अहिले । लगभग सडकमै आएका छन् । फ्याक्ट्री चलाउन केही रकम आवश्यक परेपछि फ्याट्री नै धितो राखेर २०४५ सालमा बैंकबाट ऋण लिए । यिनले नेपाल बैंकको विराटनगर शाखाबाट एक पटक १० र अर्को पटक १५ गरी २५ लाख रुपैयाँ ऋण लिए ।

विभिन्न कारणले फ्याक्ट्री सञ्चालनमा समस्या आउन थाल्यो । तीन वर्षसम्म श्रेष्ठले बैंकको ऋण चुक्ता गर्न सकेनन् । २०४८ सालमा बैंकले रिसेड्युल अर्थात सावाँ र ब्याज एकमुष्ट जोडेर ४८ लाख रुपैयाँ तिनुपर्ने बनायो । श्रेष्ठले पटक पटक गरी १९ लाख रुपैयाँ तिरे पनि । फ्याक्ट्रको हालत थप नाजुक बन्दै गएपछि श्रेष्ठले बैंकको सबै ऋण चुक्ता गर्न सकेनन् । र, २०७० सालमा बैंकले फ्याक्ट्रीको सम्पूर्ण जग्गा तथा त्यहाँ भएका संरचना र मेसिन÷औजारलाई कौडीको भाउमा लिलाम गरिदियो ।

फ्याक्ट्रीको नाममा आठ बिगहा जग्गा थियो । अन्य संरचना तथा औजार पनि थुप्रै थिए । बैंकले २०७० सालमा जग्गाको ४ करोड र भित्रका संरचनाको ५० लाखमा लिलामी ग¥यो । हाल बैंकले लिलाम गरेको जग्गाको मूल्य मात्रै २५ करोड बराबर छ । २०७० सालमा लिलामी गरेको समयमा पनि सो जग्गाको भाउ १५ करोड बराबर थियो । तर, बैंकले ४ करोड ५० लाखमै लिलामी गरिदियो ।

बैकले लिलामी गर्नुअघि सावाँ र व्याज जोडेर २ करोड ५० लाख रुपैयाँ तिनुपर्ने हिसाब निकालेको थियो । जग्गा लिलाामी ४ करोड ५० लाखमा गरेको छ । तर, बैंकले हालसम्म बाँकी रकम सुरेन्द्रलाई फिर्ता गरेको छैन । बैंकले चलनचल्तीको मूल्य र मालपोत कार्यालयको समेत मूल्यलाई ख्यालै नगरी कौडीको भाउमा जग्गा लिलामी गरिदियो । अहिले सुरेन्द्र अदालतको शरणमा पुगेकाछन् । र, सर्बोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

यिनी काजीराम पिया । उनी पनि बैंककै ऋणको कारण ठूलो पीडामा छन् । पीयाले व्यवसाय सञ्चालनका लागि प्राइम बैंकको काठमाडौं बाइपास शाखाबाट माछापोखरीमा रहेको घर धितो राखेर २०७१ सालमा ७ करोड रुपैयाँ ऋण लिए । त्यसमध्ये ३ करोड रुपैयाँ केही समय पछि नै तिरे । र, ४ करोड रुपैयाँको ब्याज तिर्दै गए । उनले तीन तीन महिनामा ब्याज तिनुपर्ने थियो । तर, दुई पटकसम्म ब्याज तिर्न सकेनन् । र, बैंकले लिनुपर्ने सावाँ र ब्याज मात्रै हिसाब गरेर धितो राखिएको घर लिलाम गरिदियो ।

काजीरामको उक्त घरको चलनचल्तीको मूल्य १० करोडभन्दा माथि छ । २०७४ सालमा गरिएको पुनःमूल्यांकनमा पनि घरको मूल्य १० करोड ५५ लाख पर्ने देखाइएको छ । तर, बैंकले ५ करोड ११ लाख रुपैयाँमै घर लिलामी गरिदियो । बैंकले पठाएको लिलामीसम्बन्धि कुनै पनि सूचना नपाएको र बैंकले आफ्नै तरिकाले लिलामी गरेको दावी काजीरामको छ । तर, बैंक भने सम्पूर्ण प्रक्रिया पूरा गरेरै लिलामी गरिएको दावी गर्छ । अहिले काजीरामलाई बैंकले घर खाली गर्न धम्की दिइरहेको छ । तर, १० करोडभन्दा बढीको घर आधा रकममा गरिएको लिलामी चिक्त बुझेको छैन । र, काजीराम पनि अदालतको शरणमा पुगेका छन् ।

प्राइम बैंकको बाइपास शाखाले काजीरामको घर ५ करोड ११ लाखमै लिलाम गरिदियो । जवकी चलनचल्तीको मूल्य १० करोडभन्दा बढि हुन्छ । यस्तै, विरागनगरको जुद्ध म्याच फ्याक्ट्रीका सञ्चालक सुरेन्द्रलाल श्रेष्ठलाई नेपाल बैंकले लिलामपछि ऋणभन्दा बढि दिनुपर्ने २ करोड रुपैयाँ नै दिएन ।

प्राइम बैंकले काजीरामले राखेको धितोको पुनःमूल्यांकन पनि गरेको छ । तर, लिलामी चाहिँ पुनःमूल्यांकनभन्दा झण्डै आधामा गरिदियो । सुरेन्द्रलाल श्रेष्ठको हकमा ऋण लिएको २०४५ सालकै धितो मूल्यांकनका आधारमा बैंकले २०७० सालमा लिलामी गरिदियो । पुनःमूल्यांकन समेत नगरी चलनचल्तीमा २५ करोड मूल्य पर्ने धितो ४ करोड ५० लाखमै लिलामी भयो । र, बाँकी पैसा पनि सुरेन्द्रले पाएनन् । दुबै बैंकले ऋण उठाउने नाममा चलचल्तीको भाउ वा आफ्नै पुनःमूल्यांकनको वेवास्ता गरेका छन् । बैंकिङ मामिलाका जानकार लिलाम गर्दा बैंकले चलनचल्तीको भाउलाई पनि ख्याल गर्नुपर्ने बताउँछन् ।

सुरेन्द्रको हकमा नेपाल बैंकले प्रचलित कानून अर्थात् बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन विपरित नै काम गरेको छ । ऐनको दफा ५६ को उपदफा ४ मा लिलाम बिक्री वा अन्य व्यवस्था गरी साँवा, ब्याज र हर्जाना रकम असुल गर्दा भएको खर्चको रकम र बैंक वा वित्तीय संस्थाको सावाँ, ब्याज र हर्जानाको रकम कट्टा गरी बाँकी रहन आएमा त्यस्तो बाँकी रकम सम्बन्धित ऋणीलाई फिर्ता दिनुपर्ने उल्लेख छ । २०४५ सालको मूल्यांकनका आधारमा लिलाम गरेर सुरेन्द्रमाथि अन्याय गरेको बैंकले बाँकी पैसा पनि नदिएर थप पीडा दिएको छ ।

अप्ठ्यारो पर्दा बैंकका जुनसुकै सर्त मानेर ऋण लिने र चुक्ता गर्न नसक्दा अनेक बहाना बनाएर बैंकले ठग्यो भन्ने प्रबृत्ति पनि छ । ऋण प्रवाह गरिसकेपछि बैंकहरुले पनि ऋणीलाई अनावश्यक तनाव दिन्छन् । ऋणदाता र ऋणी दुवैको नियत सफा हुँदा किचलो कम हुने र नियत खराब हुँदा समस्यै–समस्या आउने जानकार बताउँछन् ।

जुद्ध म्याच फ्याक्ट्री बिराटनगर र काजीराम पिया बैंकले कसरी आफ्ना ऋणीलाई ऋणको दलदलमा फसाउँछन् भन्ने घटनाका प्रतिनिधि पात्र भने हुन् । बैंकबाट ऋण लिएर आफै ब्यवसाय गर्न थालेका धरै ब्यवसायी यिनीहरु जस्तै सम्पति गुमाउन बाध्य छन् । बैक तथा वित्तिय संस्थाको अनुगमन तथा निगरानी गर्ने केन्द्रीय निकाय नेपाल राष्ट्र बैंकले यी र यस्ता प्रतिनिधिमूलक घटनामा पनि ध्यान दिन जरुरी छ । साभार : न्युज२४ नेपाल

ismt college
dish home