अबको भोट झण्डावाला पानीजहाजका लागि माग्ने कि घरघरमा ग्यास पाइपको लागि माग्ने ?

भोटचाहिँ के भनेर माग्ने ? आफ्नै पार्टीले सहयोग नगरेकाले चुनाबमा जानुपर्यो भन्नुभा छ । अब भोट पार्टीलाई माग्ने कि आफूलाई ?
दुई तिहाइको सरकारलाई षड्यन्त्र गरेर काम गर्न नदिने पार्टीलाई भोट

२०७७ पुष ६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नारायण गाउले                              भोटचाहिँ के भनेर माग्ने ? आफ्नै पार्टीले सहयोग नगरेकाले चुनाबमा जानुपर्यो भन्नुभा छ । अब भोट पार्टीलाई माग्ने कि आफूलाई ?
दुई तिहाइको सरकारलाई षड्यन्त्र गरेर काम गर्न नदिने पार्टीलाई भोट दिनुस् भन्ने पनि कसरी ? ममात्रै योग्य थिएँ त्यसैले मलाई मात्रै दिनुस् भन्न पनि गाह्रो होला ।

जनताले सरकार चुन्ने त होइन, पार्टी नै चुन्ने हो फेरि पनि । संसद नै हो जनताले चुन्ने । अब प्रचण्ड र नेपाललाई भोट नहाल्नुस् भन्ने ? ती दुईको भोटमात्रै नपुगेर त होइन होला अहिले अल्पमतमा परेको । योगेशदेखि घनश्याम भूसालसम्म पनि हार्नै पर्यो ।

अब पार्टीलाई होइन, अहिले मेरो गुटमा हुने जतिलाई मात्रै भोट हाल्नुस् भन्नुपर्यो । नत्र भोलि संसदीय दलमैं तिनले अर्कैलाई चुनिदेलान् । त्यो चुनिनेलाई फाल्न खोजे फेरि विघटन गरिदेला ।

चुनाब हुने प्रत्यक्ष कार्यकारीको होइन । दलीय संसदीय चुनाब हो । हरेक ठाउँमा आफै उठेर जित्न पनि मिलेन । पार्टीले जितेन भने पनि सक्कियो । पार्टीले जित्यो भने फेरि जित्ने त अहिले भएकैले होला । पार्टी त अहिले नै षड्यन्त्रकारी छ ।

राजश्वले त तलब पनि धान्दैन । चुनाब गर्ने ऋण लिएर नै हो । चुनाबकै लागि भनेर कस्ले ऋण देला ? कर्णालीको पुल या भ्याक्सिनको नाममा लिएको ऋणले जिन्दाबाद-मुर्दाबाद गरेर भोलि जितियो नै भने पनि ब्याज तिर्ने कसरी ?

अबको भोट झण्डावाला पानीजहाजका लागि माग्ने कि घरघरमा ग्यास पाइपको लागि माग्ने ? स्थायित्वको लागि माग्ने कि प्रचण्ड र नेपाललाई सिध्याउन भनेर माग्ने ? पार्टीले जित्ने कि ओलीले ? विष्णु पौडेल, गोकुल बाँस्कोटा र इश्वर पोखरेललाई मात्रै भोट माग्ने ?

हिजोको भोट मेरो मात्रै थियो चाहे त्यो नेपालले पाएको होस् या प्रचण्डले भन्ने तर्कले कहाँ लैजाला ? हिजोको भोट पार्टीको थिएन मेरो निजी थियो, मेरो निजी भोटमा पार्टीको अन्यले शासन गर्न मिल्दैन भन्ने तर्कले यो व्यवस्थासँग खास मेल खान्छ ? पार्टीसँग त जनमत अहिले पनि छ । केका लागि कति भोट माग्ने हो ?
फेरि पार्टीले जित्यो रे, त्यो जनमत कसको भन्ने कसरी छुट्याउने ? यस्तो सनकका लागि जनताले कतिन्जेल गास काटिरहने ? कहिलेसम्म धरौटी राख्न नसकेर अस्पतालको ढोकामैं मृत्युवरण गरिरहने ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार