मेस्सीले पेलेकाे कीर्तिमानसँग बराबरी बनाए

२०७७ पुष ५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी, ५ पुष । ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ ।  गएराति घरेलु मैदान क्याम्प नोउमा भएकाे खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएकाे हाे ।

खेलको २९ औं मिनेटमा भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कार्लोस सोलेरको पासमा गोल गरेका थिए । तर मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए ।

भ्यालेन्सियाका कप्तान जोसे गायाले एन्टोइन ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । रेफ्रीले गायालाई सुरुवातमा रातो कार्ड दिएपनि भीएआरबाट कार्डलाई पहेंलोमा परिवर्तन गर्दै पेनाल्टीको निर्णय भने कायम राखे । मेस्सीको पेनाल्टी गोलरक्षक जौमेले बचाएपनि रिबाउन्डमा जोर्डी अल्बाको क्रसलाई मेस्सीले हेडरमार्फत गोल गरेका थिए ।

कप्तान लिओनेल मेस्सीले बराबरी गोल गर्दै विश्व फुटबलका महान हस्ती पेलेसँग कीर्तिमान बराबरी पनि बनाएँ । उनले पेलेले सान्तोसका लागि खेल्दै एकै क्लबका लागि गरेको ६ सय ४३ गोलको कीर्तिमान बराबर गरेका हुन् ।

दोस्रो हाफमा बार्सिलोनाले ५३ औं मिनेटमा नै अग्रता लियो । रोनाल्ड अराउजोले सानदार सिजर किकको मदतले गोल गर्दै बार्सिलोनालाई अघि बढाएका थिए । ६९ औं मिनेटमा भ्यालेन्सिया पुन: खेलमा फर्कियो । म्याक्सी गोमेजले गायाको क्रसलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

यस बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत रहेको छ । भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२ औं स्थानमा छ । शीर्षस्थानको एटलेटिको म्याड्रिडले १२ खेलमा २९ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार