सानो मान्छेको ठुलो कारोबार

२०७७ मंसिर २१, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

■ मिलन के राउत

२२ वर्षका किरण निरौलाको जन्म तेह्रथुमको सम्दुमा भएको हो । सम्दु उच्च माविबाटै एसएलसी सिध्याए । हजुरबुवा÷हजुरआमा उर्लाबारीका स्थायी बासिन्दा भएकाले उहाँहरुकै समीपमा रहेर किशोरवयदेखि यतै रहे । १२ कक्षासम्मको अध्ययन पुरा गरे । थप उच्च शिक्षा हाँसिल गर्न जाँगर चलाएनन् । पढेर जागिर खाने सपना बुनेनन् ।

उनले ब्यापार÷व्यवसायमा तरक्की गर्ने अर्जुनदृष्टि लिए । बजारमा पसलहरु देख्दा किरणलाई लाग्थ्यो, ‘यस्तै पसल चलाउन पाए, यसरी नै व्यवसाय गर्न पाए ।’ त्यतिबेला उनी कक्षा ८ मा पढ्थे । यस्तो रहर पालेका किरणलाई समयले व्यबसायी मात्रै बनाएन, पेन्टस् र सेनेटरी आइटमको अग्रणी विजनेसम्यान बनायो ।

उर्लाबारी–५ डिबी मार्गमा अवस्थित स्वस्तिक रंगमहलका संचालक किरण निरौला महालक्ष्मी पेन्टस्का आधिकारिक विक्रेता हुन् । केहि पारिवारिक सहयोग र ऋणपान गरेर व्यवसाय शुरु गरेका उनी रङ्ग बजारका सफल व्यवसायीका रुपमा दर्ज भइसकेका छन् । त्योपनि जुङ्गाको रेखि बस्दा नबस्दैको उमेरमा । १२ लाखको जेथोलाई हाल ४० लाख पुर्याएका छन् । बार्षिक कारोबार करोडभन्दा माथि छ ।
दुई जनालाई रोजगारी दिएका छन् ।

महालक्ष्मी पेन्टस् बजारमा खासै चर्चामा आएको रङ्ग भने होइन । तर, किरणका अनुसार विज्ञापन भन्दापनि स्वदेशी उत्पादन र गुणस्तरका कारण महालक्ष्मी पेन्टस् उपभोक्ताले रुचाएका छन् । त्यसमाथि न्युन मार्जिन राखेकोले उपभोक्तालाई महंगो भयो भनेर गुनासो नगरेकोमा पनि उनी सन्तोष व्यक्त गर्छन् । उनी भन्छन्– ‘भक्तपुरमा उत्पादन हूने महालक्ष्मी पेन्टस्को गुणस्तर बढेको छ ।

अहिले गुणस्तरमा विदेशी र स्वादेशी उत्पादन कुन हो भनेर भनिरहनु पर्दैन। दुवै उत्पादन एकै ठाउँमा बन्ने भएकाले गुणस्तरमा महालक्ष्मीसंगै सबै नेपाली पेन्ट्स अब्बल रहेको छ। ‘सबै पेन्ट्सले तोकिएको न्यून्तम मापदण्ड पालना गरेर उत्पादन गर्ने गरेका छन्। त्यसका कारण पनि गुणस्तरमा हामी सबै अब्बल छौ ।’ उर्लाबारी र आसपासका क्षेत्रमा रङ्गका धेरै डिलरहरु रहेपनि सबैलाई उछिन्दै महालक्ष्मी पेन्टस्ले एक करोड २० लाखको बार्षिक कारोबार गरेको स्मरण गराउन चाहन्छौ–उनले भने ।

चाडपर्वको मौसममा कारोबार बढ्नु सामान्य भए पनि पाँच÷सात वर्ष पहिलेको जस्तो दसैं केन्द्रित गरेरै घर रङाउने नेपाली संस्कृति परिवर्तन हुँदै गएको छ। आर्थिक स्रोत बढेको, अनुकूल समयमा घर रङग्याउन सकिने भएको, जतिबेला चाह्यो उति नै बेला बजारबाट किनेर ल्याइहाल्न सकिने भएकोले अहिले रङ लगाउन दसैं नै पर्खनुपर्ने बाध्यता नभएकोले रङ्गको कारोबार बढेको किरणको भनाई छ ।

घरमा प्रयोग हुने रङमा सबैभन्दा पहिले गुणस्तरीय उत्पादनको खोजी हुन्छ । त्यसपछि इमल्सन, टल्कने, साइनिङ दिने, भित्तामा आफूलाई मन पर्ने रङ बदल्ने गरिन्छ। रङ प्रयोगकर्ताले गुणस्तरीय खोज्ने र रङको प्रयोगपछिको सन्तोषलाई पनि बढी महत्व दिने गरेका छन्। यी सबै गुण महालक्ष्मी पेन्टस्मा भएकोले बजारको समस्या खासै अनुभव नगरेको किरणको कथन छ । उनको भनाईमा पछिल्लो समय बजारमा बिक्री हुने रङ बढी किनबेचका आधारमा ग्राहकले माग्ने तथा व्यापारीले पनि ‘यो रङ उपयुक्त हुन्छ’ भनेकै आधारमा त्यसको बजार बढ्ने गरेको छ । घरमा रङ लगाउनेमध्ये करिब ३० प्रतिशतले मात्रै यही रङ चाहियो वा यही गुणस्तर भन्दै खोज्ने गर्छन्।

श्रीमती र एक छोरा छन्, उनका । पेन्टस् बाहेक सेनेटरी आइटमका पनि थोक तथा खुद्रा बिक्रेता हुन्, उनी । रङकै कारोबारमा बढी तल्लिन भएकाले सेनेटरीचाहिँ ‘साइड जब’ जस्तो भएको उनी बताउछन् । आफुलाई परिवारबाट पूर्ण सहयोग मिलेको बताउने किरणको संघर्ष र सफलता व्यापारमा सफल बन्छु भन्ने जो कोहीका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

यहाँ अवसरै अवसर छ । त्यसलाई लिन जान्नुपर्छ । किनकी यहाँ सबै उपलब्ध छन्’ किरण भन्छन्, ‘त्यो अवसर छोप्नका लागि कर्म गर्ने इच्छाशक्ति र परिश्रमी भइ काममा निक्कै झुकाव राख्न सक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार