४४ देशमा रहेका ४४ हजार नेपालीमा कोरोना संक्रमण, २८५ को मृत्यु

२०७७ कार्तिक २३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो ।

संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपाली कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

ती मध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएका छन् । यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप १ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । संघका अनुसार विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यो साता नेपालमा मात्र १ लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ प्रतिशत रहेको छ ।

शनिवार साँझसम्म नेपालमा १ हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार