बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन मल नदिने भएपछि…

२०७७ कार्तिक १८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।

धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो । मुख्य धानबाली लगाउने बेलामै देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्रीले घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गरेका थिए ।

कृषिमन्त्री भुसालको अनुरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलब्ध गराउनबारे टेलिफोनमा कुराकानी भएको थियो । भदौ दोस्रो सातामा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएको कुरामा पैँचोमा मल उपलब्ध गराउने मौखिक सहमति भएको थियो ।

मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशबाट ल्याउने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बंगलादेशले अहिले मल नदिने भएपछि सोही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार