जुनसुकै सरकार आए पनि जनताको समस्या जहाँको त्यहि ,खै कहाँ छ ओली सरकार !

२०७६ कार्तिक २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हरि न्याैपाने / काठमाडौँ – काम विशेषले दोलखा जानुपर्ने थियो । आफ्नो गृहजिल्ला बेलाबेला गइरहनुपर्ने हुन्छ । यस पटकको काम १ घण्टामा सकिने थियो । विहान करिब ६ बजे दोलखा जान कोटेश्वरबाट लागियो । अघिपछि बढीमा ५ घण्टामा पुगिने बाटो हो । ठूलो पाखर नजिकसम्म सहजै पुगियो । जब १८ किलो भन्ने स्थानमा पुगियो, पिच गरेको सडक भत्काइएको छ अनि सडकभरी माटै माटो छ ।

हामी चढेको बस ठूलै कसरतले माटोमाथि छेउभित्तो गर्दै गुड्दै थियो अलि माथि पुगेपछि बस बीच बाटोमा फस्यो । सबै जना लागिपरे । सकेको ठेले केही सिप लागेन । बसका टायर मात्र माटोमाथि घुमिरहे । साँढे नौ बजे पुगेको बस झण्डै ३ घण्टाको प्रयासमा पनि कसैको केही चलेन । अघिपछि बसको लाम लाग्यो । ३ घण्टा बढी समय बितेपछि एक डोजर आयो । डोजरले डोरी लगाएर बस फसेको स्थानबाट उद्धार गर्यो । अब त घर पुगिने भयो भनेको फेरि अलि माथि आएपछि अर्को स्थानमा फस्यो ।

त्यसपछि फेरि पुरानै सबै प्रक्रिया सुरु भयो तर केही लागेन । उद्धार गरिदिने डोजर दुई किलोमिटर तल अन्य फसेका गाडीहरुको उद्धारमा व्यस्त थियो । एक घण्टाको कुराईपछि सोही डोजर आयो अनि उद्धार गरिदियो । त्यतिञ्जेल २ बज्न लागिसकेको थियो । यात्रुहरु सबै भोकै थिए । अनि सकेको सत्तोसराप गर्न थाले । कसैले सरकारको कसैले ठेकेदारको अनि कसैले दोलखाका नेताहरुको गाली गरे । त्यो भीडमा म पनि थिएँ सुनेर बसेँ । त्यो भन्दा अन्य विकल्प कोही कसैसँग थिएन पनि । अचेल गाउँ गाउँमा सिंहदरबार छ । संघीयता छ स्थानीय सरकार छन् जनप्रतिनिधि यी परिघटनाबीच अब मैँले कारण खोतल्नुथियो ।

लापर्बाही कसको ?

दोलखा जिल्लाको लाइफलाइन हो लामोसाँघु–जिरी सडकखण्ड । यो खडक खण्ड हिलोका कारण सवारीसाधन चल्नै नसक्ने अवस्थामा पुग्नुको पछि को जिम्मेवार छ ? उत्तर सहज छ सो सडक खण्डको स्तरोन्नतिमा ठेकेदार कम्पनीले गरेको ढिलासुस्तीका कारण यात्रु सास्ती खेप्न बाध्य छन् । ठेकेदार कम्पनीमाथि सरकार तथा जनस्तरबाट व्यापक दबाब परे पनि सुधार हुन सकेको छैन ।

जसले गर्दा दशैँका मुखमा घर जानेले ठूलो कष्ट र सास्ती झेल्दैछन् । अर्कोतर्फ ठेकेदारले हिउँद लागेपछि मात्र काम गर्ने अनि गरिएको काम पनि झारा टार्ने प्रवृत्तिको हुँदा समस्या बल्झिँदो छ । सोही बसमा यात्रा गरिरहेका यात्रु गणेश प्रसाईँ भन्छन् –‘‘म चरिकोट काठमाडौँ बसमार्फत ओहोर दोहोर गरिरहन्छु । ४–५ घन्टामा गन्तव्य पुग्न सकिने यात्रा १०/१२ घण्टा लाग्ने भयो ।’’

यो सामग्री पब्लिक न्युज एजेन्सी ( publicnewsagency.com ) बाट साभार गरिएको हो । यहाँहरुले पनि साभार गरी यी सामग्री पुनः प्रकाशन गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार