हामी आफैं सत्तामा छौं, मोदि र ओलीबीच हटलाइनमा कुरा हुनुपर्यो – पूर्वमन्त्री भट्ट

२०७६ कार्तिक २३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले लिपुलेक र कालापानी नेपालकै भएको कुरा ऐतिहासिक तथ्यांकले पनि पुष्टि गरेको सुनाउँदै भारतसँगको विवाद कुटनीतिक तवरले हल गरिनुपर्ने धारणा राख्नु भएको छ ।

उहाँले अगाडि भन्नुभयो,‘भारतले नयाँ नक्शा प्रकाशनमा ल्याएपछि यो अहिलेको जल्दोबल्दो बहसको विषय बनेको छ । अहिले सडक तातिएको छ । लिपुलेक र कालापानी नेपालकै हो । अहिलेसम्म सरकारको नेतृत्व गरेकाहरुले यो कुरा भारतसँग अडानका साथ राख्न सकेनन् । भारतसँग नेपालले कुटनीतिक पहल गर्नुपर्छ ।’

उहाँले उक्त विषयमा नेपालको परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने पनि माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो विवाद कुटनीतिक संयन्त्रबाट हल गरिनुपर्छ । नेपालले कुटनीतिक टेबुलमा आफ्नो ऐतिहासिक तथ्यांक पेश गर्नुपर्छ । सरकारले कुटनीतिक कौशलता पेश गर्नुपर्छ ।’

उहाँले थप्नुभयो-‘२०७२ सालमा भारत र चीनबीच लिपुलेकबारे भएको समझदारीको विरोधमा पहिले मैले बोलेको थिएँ । हामीले कमजोरीबाट पाठ सिक्नुपर्छ । नागरिक समाज, राजनीतिक दल, सरकार एकजुट भएर कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्छ । सीमा विवाद समाधान गर्नुपर्छ । सडकमा आएर उफ्रिएर हुँदैन् ।’

भट्टले कालापानी र लिपुलेकको ऐतिहासिक पक्षलाई अध्ययन गर्नुपर्ने धारणा राख्दै ईतिहासमा कहा– कहाँ कमजोरी गरेको हो भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राख्दा नेपालले पनि आफ्नो सेना राख्न सक्नु पर्ने थियो भन्ने अभिव्यक्ति दिनुभयो । लामो समयदेखिको उक्त विवाद हल गर्नको लागि यसअघिका सरकारहरुले पहल नगरेको र आफूहरु सरकारमा हुँदापनि त्यो काम नगरेको पनि उहाँले स्वीकार गर्नुभयो ।

लिपुलेक, कालापानी नेपालकै भू-भाग भएको र यसको प्रमाण नेपालका ऐतिहासिक दस्तावेज, नक्शाहरु, ब्रिटिश पुस्ताकालय, कयौं नक्शाहरु र कञ्चनपुर मालपोत कार्यालयमा रहेको पनि उहाँले सुनाउनुभयो ।

भारतको विरोध गर्दै सडकमा आउनुको अर्थ नभएको गर्दै भट्टले अगाडि भन्नुभयो,‘हामी आफैं सत्तामा छौं । पार्टी च्यानलको माध्यमबाट जानुपर्छ । प्रधानमन्त्री–प्रधानमन्त्रीबीच हटलाइनमा कुरा हुनुपर्यो । विशेष दूत पठाउनुपर्यो । त्यहाँको राजदूतलाई सक्रिय बनाउनुपर्यो । भारतीय राजदुतलाई स्पष्टीकरण लिनुपर्छ । हिम्मत गर्नुपर्यो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार