नेपालको ६० हजार हेक्टर जमिन भारतले मिच्दा चीनले कति मिचेको छ ?

२०७६ कार्तिक २३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – भारतीय पक्षले नेपालको ठूलो भूगोल आफ्नो नक्सामा राखेपछि विरोध भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपाली भूमि मिचेको पाइएको छ। भारतले दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको सबैभन्दा ठूलो ३७२ वर्ग किलोमिटर क्षेत्र मिचेको छ। उसले त्यससँगै नवलपरासीको सुस्तासहित नेपालका ७१ स्थानमा ठूलो मात्रामा सीमा मिचेर कब्जा जमाएको छ।

भारतसँग नेपालका २६ जिल्ला जोडिएका छन्। जसमध्ये २३ वटा जिल्लामा भारतले अतिक्रमण गरेको छ। सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार भारतले ताप्लेजुङदेखि दार्चुलासम्म नेपालको ६० हजार ६ सय २७ हेक्टर जमिन अतिक्रमण गरेको छ। भारतले दार्चुलामा ३७ हजार हेक्टर नेपाली भूमि मिच्दा त्यसपछि नवलपरासीको सुस्तामा १४ हजार ६०० हेक्टर जमिन अतिक्रमण गरेको छ।

दार्चुलामा भारतले भक्तपुर जस्ता तीनवटा जिल्ला जति भूगोलमा कब्जा जमाएको छ। भारतले दार्चुला, नवलपरासी, पाँचथर, ताप्लेजुङ र कञ्चनपुर जिल्लामा ठूलो भूभाग मिचेर बसेको छ। सीमाविद बुद्धिनारायण श्रेष्ठले मिचिएका क्षेत्रमा नेपाल सरकारको बलियो उपस्थिति अभावका कारण भारतले मनपरी गरिरहेको बताउँछन्। उनले नेपाली पक्षको बलियो उपस्थिति हुन सकेमा पनि भारतीय अतिक्रमण रोक्न सकिने उल्लेख गरे।

लामो समयदेखि ग्रेटर नेपाल आन्दोलन चलाइरहेका फणिन्द्र नेपालले कालापानी क्षेत्र नेपालले नै भारतलाई बेचेको जिकिर गर्छन्। ‘भारतले यसरी ज्यादति गरिरहँदा सरकार किन प्रतिवाद गर्दैन?’, उनी भन्छन्, ‘यदि नबेचिएको भए सरकारले जनतालाई आफ्नो उपस्थिति देखाउन सक्नुपर्छ। आफ्नो भूगोल जोगाउन सरकारले बलियो खुट्टो टेक्न सक्नुपर्छ।’

चीन पनि उस्तै

नेपालको ठूलो भूगोलसहितको नयाँ नक्सा जारी गरेपछि भारतको विरोध भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपालको भूमि मिचेको पाइएको छ। चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको तथ्यांक सरकारसँग नै छ। चीनले उत्तरी क्षेत्रतर्फका चार जिल्लाको ३६ हेक्टर भूभाग मिचेको हो। सरकारले नै तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमाक्षेत्र मिचेको हो।

कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको प्रतिवेदनमा चीनले नेपाली भूमि मिचेको उल्लेख छ। ‘नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू’ शीर्षकमा बनाइएको प्रतिवेदनमा उक्त भूमि मिचेको लेखिएको छ। ‘चीनले नेपाल-चीन सीमासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई यही गतिमा बढाउने हो भने नेपालले हजारौं हेक्टर जमिन गुमाउनसक्ने सम्भावना छ’, प्रतिवेदनमा उल्लेख छ।

नेपाल-चीन सीमामा नेपालतिर नदीको वहाबले ठूला ठूला मैदान बनाइरहेको अवस्थामा चीनले उक्त जमिन आफ्नो भन्दै सिमाना यता सारेको अध्ययन टोलीले जनाएको छ।चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालीमा चार हेक्टर, रसुवाको सन्जेन खोलामा दुई हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, लेम्दे खोलामा एक हेक्टर, जबमु खोला ३ हेक्टर मिचेको छ। त्यसैगरि सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर, भोटेकोसीमा चार हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको मन्त्रालयको विवरणमा उल्लेख छ।

-थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार