sajalsandesh

याम्बुनेरका कथा

  • अनिल घिसिङ

काठमाडौं – यतिबेला कोरोना भाईरसका कारण सिंगो पृथ्वी थलिएको छ। संसारमा केहिपनी सामान्य रुपमा चल्न सकेको छैन। महामारीले गर्दा महिनौंदेखी विश्व नै ठप्प छ।

तरपनी एउटा सर्जकको कलम भने रोकिएन। उनको सृजनशिलता अघि बढिरह्यो निरन्तर। र जन्मिए तेह्र थान कथाहरु।

नेपाली साहित्य जगतमा बिना थिङ तामाङ नौलो नाम होइन। कोरोना कहरको विषम परिस्थितिका बाबजुद उनै सर्जक बिना थिङ तामाङले नयाँ कथा संग्रह “याम्बुनेर” पाठक समक्ष ल्याएकी छन्।

मकवानपुरको हेटौंडामा जन्मे-हुर्केर काठमाण्डौंलाई कर्मथलो बनाएकी लेखिका थिङको “छुकी” कथा संग्रह २०६९ सालमा प्रकाशित भएसंगै उनी कथाकारका रुपमा नेपाली साहित्य क्षेत्रमा उदाएकी हुन्।

कथाको अलावा कविता लेखनमा पनि उत्तिकै अब्बल मानिने उनको कविता कृति “रातोघर” २०७२ सालमा प्रकाशित भएपछी साहित्य क्षेत्रमा उनले आफ्नो उपस्थिती दाह्रीलो बनाईन्। रातोघर कविता संग्रहमा समाविष्ट दमदार कविताहरुले पाठकहरुमाझ निकै चर्चा कमाए।

त्यसपछी २०७६ सालमा आयोजित बाह्रखरी राष्ट्रिय कविता प्रतियोगितामा उनको “ब्याड भाले” शिर्षकको कविताले प्रथम स्थान हासिल गर्यो। उनको अबिराम लेखन यात्राको क्रममा प्राप्त उक्त पुरस्कारले थप साहित्य सृजनाका निम्ति उत्प्रेरित गर्यो।

रातोघर पुस्तकमा प्रकाशित गहकिला कविताहरु र बाह्रखरी राष्ट्रिय कविता प्रतियोगिताको विजेता बनेसंगै नेपाली साहित्य सर्जकहरुको पंत्तिमा उनले आफूलाई युवा पुस्ताको एउटा बलियो खम्बाको रुपमा उभ्याएकी छन्।

पुस्तकाकारमा प्रकाशित तथा पत्रपत्रिकामा प्रकाशित उनका अन्य फुटकर कविताहरु पाठकले रुचाए। सरल र स्वादिलो शैलीमा शक्तिशाली कविता लेखनकै कारण पछिल्लो समय देश-बिदेशमा आयोजना हुने साहित्यिक कार्यक्रमहरूमा उनको बाक्लो सहभागिता रहँदै आएको छ।

बहुमुखी लेखन चरीत्र थिङको कवितामा जति लगाव छ, उतिनै आख्यानमा झुकाब छँदैछ। त्यसैको फलस्वरूप २०७७ भदौ १० गते उनको दोश्रो कथा संग्रह “याम्बुनेर” सार्बजनिक भएको छ।

“याम्बु” तामाङ भाषाको शब्द हो। याम्बुको शाब्दिक अर्थ राजा बस्ने गाउँ अथवा राजधानी हो। याम्बुनेर भन्नाले काठमाण्डौंनेर अर्थात काठमाडौ नजिकै वा काठमाडौ छेउछाउ भन्ने अर्थ्याउँछ।

समसामयिक सन्दर्भ बाहेक वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक विभेद आदि विषयवस्तुमाथी समस्याको उठान र निदानका अवयवहरुबारे कलम चलाउनु उनको रुचिका खायल हुन् भने खाँट्टी मौलिक भाषाशैली उनका रचना विशेषता हुन्।

सामाजिक बेथिति र शासकीय उत्पीडनमाथी खबरदारी गर्नु अनि साँस्कृतिक सम्पत्तिको संबर्धन-संरक्षण प्रतिको गहिरो सचेतन उनका साहित्य सृजनाहरुमा भेटिन्छन्।

महिनौंदेखि लम्बाईरहेको बन्दाबन्दीको समयमा पुराना किताब जुटाएर पढिरहेका पुस्तक पारखीहरुकालागी भर्खरै प्रकाशित “याम्बुनेर” ताजा खुराक हो। फिनिक्स् पब्लिकेशन द्वारा प्रकाशित उक्त पुस्तकलाई बितरक संस्था बुक हिलले काठमाडौ उपत्यकामा नि:शुल्क होम डेलिभरीको व्यबस्था मिलाएको छ।

Facebook Comments
ismt college
dish home