कतारमा श्रमिकको अभाव

२०७७ भाद्र १२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौँ – नेपालीको प्रमुख गन्तव्य कतारमा श्रमिकको अभाव देखिन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारले अरू देशबाट श्रमिक ल्याउन नपाएपछि रोजगारदाताहरूले नया श्रमिक भर्ती गर्न पाएका छैनन् ।

श्रमिक अभाव हुन थालेपछि कतार चेम्बर अफ कमर्सले रोजगारी गुमाएर कतारमै बस्न इच्छुक श्रमिकलाई नयाँ रोजगारीका लागि आवेदन दिनसमेत अनुरोध गरेको छ । पसल, रेस्टुराँ तथा साना कम्पनीमा कार्यरत श्रमिकले भने रोजगारी गुमाएका छन् । दुईवर्षे करार अवधि समाप्त भएपछि अर्को कम्पनीमा काम गर्न रोजगारदाताले रिलिज पेपर (अनुमति पत्र) दिनुपर्ने बाध्यकारी नियम छ ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले महामारीको समयमा पनि कतारको अर्थतन्त्रमा ठूलो असर नपरेको र निर्माण क्षेत्र निरन्तर सुचारु नै रहेको बताए । ‘केही सेवा क्षेत्रमा असर देखिएको हो । निर्माण क्षेत्रमा नै ठूलो प्रभाव देखिएको छैन,’ उनले भने ।

‘जो श्रमिकले रोजगारी गुमाएका छन् । उनीहरूले रोजगारी पाउनको कतार चेम्बर अफ कमर्समा नै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । चेम्बर अफ कमर्सले नै रोजगारदातासग समन्वय गरिदिनेछ,’ उनले भने । उनले स्वदेश फिर्नुभन्दा कतारमै उपलब्ध हुन सक्ने रोजगारीको विकल्पलाई सदुयोग गर्नसमेत अनुरोध गरेका छन् ।

नेपाली व्यवसायी संघ, कतारका महासचिव रमेश भट्टले ठूला कम्पनीलाई श्रमिकको अभाव देखिन थालेको बताए । ‘अबको २ वर्षपछि कतारमा विश्वकप हुँदै छ । सबै रंगशालाका कामहरू त लगभग सकिएको छ । तर, त्योसँग जोडिएका अन्य महत्त्वपूर्ण आयोजनाहरू निर्माणधीन नै छन् । कतारका लागि हरेक दिन महत्त्व छ । उसले तोकिएको समयभित्रै जसरी पनि आयोजनाहरू सम्पन्न गर्नुपर्ने अवस्था छ,’ उनले भने । कतारको निर्माणक्षेत्रमा कुल श्रमशक्तिको झन्डै ३० प्रतिशत त नेपाली नै छन् । कतिपय कम्पनीले स्थानीय श्रमिक आपूर्ति कम्पनीलाई कमिसन नै दिएर कामदार खोज्न लगाएको छ ।

कतिपय कम्पनीले श्रमिकलाई कटौती गरे पनि कतारमै निरन्तर दिन नचाहनेहरू स्वदेश फिर्ने पक्षमा छन् । कोभिड महामारीपछि हालसम्म ७ हजार नेपाली स्वदेश फिरिसकेका छन् भने झन्डै १४ हजार श्रमिक स्वदेश फिर्नका लागि नेपाली दूतावासमा आवेदन दिइसकेका छन् । स्वदेश फिर्नका लागि तयारी अवस्थामा रहेका कतिपय श्रमिक भन्ने अन्य कम्पनीमा रोजगारी पाएपछि काम गर्ने पक्षमा नै देखिएको राजदूत भारद्वाजले वताए ।

‘मैले ५ वर्षदेखि कतारको प्रतिष्ठित अली वनी अली समूहमा काम गरिरहेका थिए । उसले धेरै श्रमिकको करारपत्र रद्द गरिदियो । सयौंले रोजगारी पनि गुमाए,’ गोरखाका धीरज श्रेष्ठले भने, ‘स्वदेश फिर्ने तयारीमा थिए । मैले गरिरहेको प्रकृतिको काम अर्को कम्पनीमा पाएपछि तत्काल स्वदेश फर्किनँ ।’

कतारले कम्पनीले बिदामा पठाएका श्रमिकलाई पुनः प्रवेशमा अनुमति दिन थालेको छ । ‘पुनः सोही कम्पनीमा आउन अनुमति दिन त थालेको छ । त्यसका लागि कम्पनीले नै अनुमति माग्नुपर्छ,’ भट्टले भने । कतारको अमिरी दिवान गार्डमा कार्यरत झन्डै १७ जना नेपालीलाई पुनः कतार प्रवेशका लागि अनुमति दिइसकेको छ । कतारले नेपाललाई अझै कोरोना जोखिम देशको सूचीमा राखेकाले विगतमा जसरी तत्काल श्रमिक ल्याइहाल्ने अवस्था भने देखिँदैन ।

सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार कतारमा कोरोना भाइरसको पहिलो केस मार्चको पहिलो साता देखिएको थियो । मे अन्त्यसम्म यसको संक्रमण उच्च देखिएको थियो । त्यसपछि भने क्रमशः घट्दै आएको थियो ।

बिहीबारसम्म १ लाख १४ हजार ५ सय ५८ जनालाई निको भइसकेको छ । २ हजार ९ सय ९० जना मात्रै उपचाररत छन् । गैरआवासीय नेपाली संघका अनुसार कतारमा कम्तीमा संक्रमितको २० प्रतिशत नेपाली छन् । कतारस्थित नेपाली दूतावासका अनुसार भाइरसको संक्रमणबाट बचाउन कतार सरकारले उपचारमा कसैलाई पनि भेदभाव गरेको छैन ।

‘कतारको जीवन सामान्य बन्दै गइरहेको छ । डरत्रास विस्तारै हट्दै गइरहेको छ,’ नेपाल पत्रकार महासंघ, कतार शाखाका अध्यक्ष करिमबक्स मियाँले भने, ‘सार्वजनिक स्थलमा बाक्लो भेटघाट हुन थालेको छ । कम्पनीहरू पहिलेकै लयमा खुल्न थालेको देखिन्छ । धेरै श्रमिकले रोजगारी गुमाउने अवस्था तत्काल देखिँदैन ।’

विश्वकप रंगशाला निर्माणको जिम्मेवारी लिएको द सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले श्रमिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकता दिइएको बताएको छ । रंगशालाको निर्माण कार्य उच्च बिन्दुमा पुगेको बेला झन्डै नेपालीसहित आप्रवासी ३० हजार श्रमिकले काम गरेका थिए ।

‘निर्माणले उच्च गति लिएको समयमा चीन, भारत, टुर्की, चीन, घाना र फिलिपिन्सका ३० हजार श्रमिकले काम गरेका थिए । श्रमिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छौं,’ बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै श्रमिकलाई श्रमिक कल्याण मापदण्डभित्र राखेर सुरक्षा प्रदान गरेका छौं ।’

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले निजी क्षेत्रलाई धरासायी हुन नदिन र दीर्घकालसम्म रोजगारी बचाउन भन्दै रोजगारदाता र श्रमिकबीच आपसी सहमति गर्नका लागि दुईबुँदे निर्देशनात्मक आदेशसमेत दिएको थियो । भाइरसको संक्रमणलाई नियन्त्रण गर्न चालिएको कदमबाट बन्द नभएका कम्पनीले कामदारलाई करारपत्रमा उल्लेख भएअनुसार कामदारले निरन्तर रूपमा पाउँदै आएको न्यूनतम तलब, अन्य सेवासुविधा, खाना, बस्ने सुविधा कटौती गर्न नपाइने र बेतलबी तथा वार्षिक बिदामा बस्न पाइने वा काम गर्ने समय कम गर्न सकिने प्रावधान ल्याइएको थियो । करारपत्र समाप्त भएका श्रमिकलाई भने टिकट दिई स्वदेश पठाउन पाइनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार