प्रधानमन्त्री केही साता बालुवाटारबाट ननिस्कने

२०७६ कार्तिक २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन बालुवाटारमा आराम गर्ने भएका छन् । मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली नियमित चिकित्कहरुको निगरानीमा छन् ।

एक साताअघि ओलीले धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा पुगेर दुई पटक हेमोडायलासिस गराईसकेका छन् । उनको मृगौलामा पछिल्लो समय लगातार समस्या देखिएको छ। १२ वर्षअघि ओलीले मृगौला प्रत्यारोपण गराएका थिए ।

चिकित्सकहरुले धेरै धपेडी नगर्न सुझाव दिएपछि ओलीले दैनिक कार्यपनि अहिले बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् । यो बीचमा उनले पार्टीको सचिवालय बैठक दुई पटक र मन्त्रिपरिषद बैठक पनि दुई पटक नै राखिसकेका छन् ।

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालकाअनुसार अझै केही दिन प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा भाग लिन नजाने मनस्थितिमा छन् । पार्टी सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णय लिन परे उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमै बोलाएर छलफल गर्ने गरेका छन् । त्यस्तै, नेकपाका अरु नेताहरुसँग पनि उनले भेटवार्ता गरिरहेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अहिले धेरै राम्रो रहेको पनि अर्यालको भनाई छ । उनले भने,”उहाँको स्वास्थ्य राम्रो छ । तर, अहिले चिकित्सकहरुले आराम गर्न सुझाउनुभएको छ । धेरै धपेडी नगर्न भनेपछि उहाँ बालुवाटारमै बस्नुहुन्छ । महत्वपूर्ण कामहरु यहीँबाट भैरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार