काठमाडौँ उपत्यकामा निषेधाज्ञा : अटेर गरे १ महिना कैद, ५ सय जरिवाना !

२०७७ भाद्र ४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ – काठमाडौं उपत्यकामा बुधबार (भदौ ३ गते) मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । राजधानीमा कोभिड १९ को संक्रमण बढ्दै गएपछि मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताइएकाे छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गरिएको छ । निषेधाज्ञा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । अत्यावश्यक सेवा दिनेबाहेक सबै व्यापार/व्यवसाय, निजी तथा सार्वजनिक र सरकारी कार्यालय सञ्चालन गर्न पाइने छैन । दमकल, बिरामी बोकेका एम्बुलेन्स, शव वाहन, ढुवानीजन्य खाद्य, इन्धन, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सवार सवारी साधन बाहेकलाई उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले औषधि र खाद्यवस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । उहाँले अटेर गर्नेलाई कारबाहीको समेत चेतावनी दिनुभयो । आदेश उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) मा प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा वा जनस्वास्थ्यमा असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न निश्चित समयका लागि निषेधाज्ञा जारी गर्न पाउने व्यवस्था छ । दफा ६ (३) मा भनिएको छ, ‘कसैले कुनै काम गर्न लाग्दा वा कहीं केही वस्तु रहँदा वा कसैले राख्दा हूलदंगा भई शान्ति सुरक्षा भंग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले तोकिएकाबाहेकका कुनै पनि काम/गतिविधि गर्न निषेध आदेश दिन सक्नेछ, त्यस्तो आदेश एकपटकमा दुई महिनाभन्दा बढी अवधिको हुने छैन ।’

कोभिड–१९ नियन्त्रणमा खटिएका राष्ट्रसेवक कर्मचारी, नियमित सेवा प्रदान गर्न अनिवार्य गरिएका कार्यालयका कर्मचारीको हकमा भने बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३ बजेदेखि ५.३० बजेको समय निर्धारण गरिएको छ । यसका लागि ती कार्यालयहरूले न्यूनतम कर्मचारीको सङ्ख्या निर्धारण गर्नुका साथै कार्यालयबाट जारी फोटोसहितको परिचयपत्र अनिवार्य गरिएको छ ।

निषेधाज्ञामा मन्त्रालय लगायत कतिपय सरकारी कार्यालय भने खुला हुनेछन् । सञ्चार गृह तथा सञ्चारकर्मीहरूका लागि भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट यसअघि उपलब्ध सवारी पासलाई नै मान्यता दिने जनाइएको छ । विभागले प्रेस विज्ञप्ति जारी गरी उक्त पास प्रयोग गर्दा आफू कार्यरत सञ्चार गृहबाट जारी फोटोसहितको परिचयपत्र देखाए पुग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार