संसद्‍को लोगोप्रति सांसदहरूको असन्तुष्टि- ‘नक्सा मिलेन, भद्दा देखियो’

२०७७ भाद्र २, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – संघीय ससंद्का सदस्यहरूका लागि संसद् सचिवालयले तयार पारेको लोगो विवादमा परेको छ । सांसद्हरूले लोगो नक्सा नमिलेको र भद्दा देखिएको भन्दै विरोध जनाएका छन् । संसद् सचिवालयले भने हातले निर्माण गरेकाले केही भद्दा देखिएको प्रष्टिकरण दिएको छ ।

नेपालको नक्सामा भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि संसद्को लोगो पनि परिमार्जन गरिएको हो ।

टेकवीर मुखियाले डिजाइन गरेको लोगो घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले बनाएको हो । उद्योगका कालीगढले हातले नै उक्त लोगो निर्माण गरेका हुन् ।

लोगोमा नक्सा गलत ढंगले राखिएको र नक्साको आकार पनि नमिलेको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन् । सत्तारुढ नेकपाका उपनेता सुवास नेम्वाङले लोगोमा नक्साको पश्चिमी भाग उठेको हुनुपर्नेमा त्यसो नभएको र सोझो राखेको भन्दै असन्तुष्टि जनाए ।

सांसद विरोध खतिवडाले लोगो भद्दा देखिएको प्रतिक्रिया दिएका थिए । यसअघिको लोगो नै राम्रो भएको र त्यसमा नै नयाँ नक्सा राखेको भए राम्रो हुन्थ्यो भन्ने उनको भनाइ थियो ।

सांसद विजय सुब्बाले संसदको लोगोलाई लिएर सामाजिक संजालमा विरोध जनाएका छन् । उनले लेखेका छन्, ‘प्रचारमा आए अनुसार हो भने यति साह्रो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु ? यो कसरी स्वीकृत भयो होला ? यस्तो निर्माता कस्तो होला ? ल अब तयार भयो भनि दिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ ।’

लोगोमा राखिएको झण्डा पनि नमिलेको सांसदहरूले बताएका छन् । झन्डामा रहेका चन्द्र र सूर्य नमिलेको, छेउको रङ पनि नमिलेको भन्दै सांसदहरूले विरोध जनाएका हुन् । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार