जटिल अवस्थाका संक्रमितले उपचार नपाउने जोखिम

२०७७ श्रावण ३०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – कोभिड–१९ का जटिल बिरामी बढ्दै जाँदा पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न सरकारले ध्यान दिएको छैन । पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन सक्ने देखिएको छ ।

अहिले भएका कतिपय आईसीयू र भेन्टिलेटर पनि पर्याप्त जनशक्ति नभएर पूर्ण रूपमा सञ्चालन हुन सक्ने अवस्थामा छैनन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आईसीयूका लागि तालिम प्राप्त जनशक्ति नभएको बताए । ‘हाम्रो यत्रो ठूलो अस्पतालमा एक जना मात्र एनेस्थेसियोलोजिस्ट छन्, भेन्टिलेटर र आईसीयूमा सघाउन छात्रवृत्ति करारमा आएका एक जना आफैं कोरोना संक्रमित भएका छन् । क्रिटिकल केयरका लागि जनशक्ति छैन,’ उनले भने । उनका अनुसार कोभिड–१९ का लागि नारायणी अस्पतालमा पाँच शय्याको आईसीयू र पाँचवटा भेन्टिलेटर छन् । अस्थायी कोभिड अस्पतालमा १० वटा आईसीयू शय्या र तीनवटा भेन्टिलेटर छन् । ‘स्वास्थ्य संकटकाल घोषणा नगरी नहुने अवस्था छ,’ डा. उपाध्यायले भने ।

विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले पाँचवटा भेन्टिलेटर रहे पनि त्यसलाई सञ्चालन गर्न उपयुक्त जनशक्ति नरहेको बताए । जनकपुर प्रादेशिक अस्पतालका कोभिड–१९ संयोजक डा. जामुन सिंहले संक्रमितलाई सघन उपचार सेवा दिन झन् बढी समस्या आउने बताए । डा. सिंहका अनुसार उक्त अस्पतालको जनरलतर्फका भेन्टिलेटर र आईसीयू सेवा कर्मचारी संक्रमित भएपछि प्रभावित भएको छ । यो खबर अजाको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार