

पोखरा – ‘अमेरिकामा ट्रम्पले चुनाव जित्छ भन्ने थियो ?’ बिहीबार कास्की-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका कांग्रेस उम्मेदवार ७६ वर्षीय खेमराज अधिकारीले पत्रकारलाई प्रतिप्रश्न गरे।
‘पटकपटक कांग्रेस हारेको क्षेत्रमा जितको आधार के हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्पको उदाहरण दिएका हुन्। खेमराज ट्रम्प भन्दा तीन वर्ष जेठा छन् । पौडेलले सरकारले जनताको भावना अनुसार काम गर्न नसक्नु नै आफ्नो जितको आधार भएको दाबी गरे। ‘सरकारले जनताको काम नगर्नु नै मेरो जितको आधार हो’, उनले भने।

बिपी कोइराला, सुवर्ण शमशेर र शेरबहादुर देउवासँग वनारसमा संगतगरेका पौडेललाई स्वर्गीय रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्रमा उनकी पत्नी विद्या भट्टराईलाई पराजित गर्नु फलामे च्यूरा बराबर भएको अनुमान भइरहेका बेला उनले भने आफ्नो दरिलो आत्मविश्वास साटेका हुन्। पौडेल लालकिल्ला तोड्ने बताउँछन्।

कास्की–२ मा २२ उम्मेदवार
मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फको एकमात्र सिट कास्की–२ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दिने २२ मध्ये ५० प्रतिशत अर्थात् ११ जना स्वतन्त्र उम्मेदवार छन् । कास्की–२ मा उमनाथ गौतम, कमलजंग कुँवर, जमुना शर्मा, दिपक रेग्मी, नवराज बास्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला र सुनिल भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
दलगत रुपमा सो निर्वाचन क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङले उम्मेदवारी दिएका छन् ।
यस्तै, नेपाली कांग्रेस (बीपी) बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिस्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, साझा पार्टीबाट रजनी केसी, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्लले उम्मेदवारी दिएका छन् ।
संघीय लोकतान्त्रिक मञ्चबाट गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीबाट जयवन्त विक्रम शाहले पनि उम्मेदवारी दिएका भए पनि उनीहरुको नाम समानुपातिकको बन्दसूचीमा रहेकाले कम्प्युटर सिस्टममा प्रविष्ट नभएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

Comments are closed.