हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

झापाको कमल गाउँपालिकामा गए राति एक वृद्धको

२०७७ श्रावण २३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक वृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा कमल गाउँपालिका वडा नं ५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए ।

उनका अनुसार गए राति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जङ्गलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो । छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले बताए । रेग्मीका श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको पाइएको तथा राति नै स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ नै धपाएको कमल–५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । यसअघि समेत त्यस क्षेत्रमा हात्तीले उप्रदो मच्चाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार