sajalsandesh

कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि रु २५ लाख सहयोग

झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको पिसिआर मेशिन खरिदका लागि अन्तरराष्ट्रिय झापाली समाजले रु २५ लाख सहयोग गरेको छ ।

झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो । जसका लागि झापामा ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो ।

अभियानसँग साझेदारी गर्दै अन्तरराष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच समाजले पठाएको रु २५ लाखको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरे ।

यसअघि झापामा सञ्चालित सहकारीहरुले समेत ल्याब स्थापनाका लागि रु २५ लाख अभियानलाई प्रदान गरेका थिए । अभियानबाट झण्डै रु डेढ करोड सङ्कलन गरेर कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । स्थापना गरिएको ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

उता मेची अञ्चल अस्पतालमा समेत कोरोन परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको छ । कोटिहोम र मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनमा आएपछि झापासहित पूर्वको इलाम पाँचथर र ताप्लेजुङमा सङ्कलित स्वाब परीक्षणका लागि प्रदेश सरकारले धरान र विराटनगरमा स्थापना गरेको ल्याबसम्म स्वाब पु¥याउनुपर्ने बाध्यता हटेर जाने भएको छ ।

अहिले प्रदेश सरकारले स्थापना गरेको दुईवटा ल्याबमा प्रदेश नं १ का १४ जिल्लाको स्वाब परीक्षण हुँदै आएको छ ।

– रासस

ismt college
dish home