सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ

२०७७ असार २५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।

उहाँहरुलाई बुधबार साँझ नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले आफ्नो कार्यकालमा सङ्गठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीको कार्यक्षमता तथा कार्यकौशलअनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने, सङ्गठनका हरेक सदस्यको सङ्गठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताउनुभयो ।

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएता पनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिइ सङ्गठनमा प्रहरी कर्मचारीको वृत्तिविकासलगायत विविध सुधारका पक्षलाई गति दिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी सेवा नागरिकका लागि हो, तर यसमा दुवै पक्षबीचको परस्पर सहकार्य, सद्भाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ । प्रहरी कर्मचारीमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनुपर्ने प्रशस्त स्थान रहेको छ ।”

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घसेवा सम्मान प्रदान गर्नुभयो । साथै उहाँले सेवानिवृत्त हुनुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र सङ्गठनप्रति पु¥याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार