अस्ट्रेलियाका अर्थमन्त्रीले गरे राजनीतिबाट अलग हुने घोषणा

२०७७ असार २१, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्यानबेरा- अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोरम्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गरेका छन्।

कोरम्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुन्। उनले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताएका छन्। सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको सिनेटरका रूपमा निर्वाचित कोरम्यानले सन् २०१३ पछि बनेका विभिन्न सरकारको अर्थमन्त्रीका रूपमा काम गर्दै आएका छन्।

कोरम्यानले आफ्नो राजनीतिक जीवनबाट बिदा लिन लाएको जानकारी गराउँदै जारी वक्तव्यमा भनिएको छ, ‘म यस पद (अर्थमन्त्री)का रूपमा यस वर्षको बजेटलाई तयार गर्दासम्म रहनेछु।’ कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा वार्षिक बजेट तयार गर्ने मिति आगामी अक्टोबरका लागि सारिएको छ।

‘मैले यो काम मन पर्छ। मैले हरेक दिन यसैका लागि अर्पण गर्ने गरेको छु। तर यस वर्षको अन्त्यसम्म यो सरकारको आधा कार्यकाल पनि सकिनेछ,’ उनले भनेका छन्, ‘अर्को निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गर्दै मैले प्रधानमन्त्री स्कट मोरिसनसँग सल्लाह गरिसकेको छु कि सन् २०२० को अन्त्य नै मलाई आफ्नो पदबाट बिदा लिन उपयुक्त समय हुनेछ।’

अस्ट्रेलियाले विश्वव्यापी महामारीका कारण ठूलो बजेट घाटाको सामना गरिरहेका बेला अर्थमन्त्री कोरम्यानको राजीनामा आएको छ। उनको राजिनामासँगै प्रधानमन्त्री मोरिसनले आफ्नो मन्त्री परिषद्मा फेरबदल गर्नु सक्ने अनुमान गरिएको छ। -रासस/एपी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार