फलफूलखेतीमा कृषक आकर्षित

२०७७ असार १८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दाङका कृषक परम्परागत भन्दा फलफूलखेतीमा राम्रो आम्दानी देखेपछि यसतर्फ आकर्षित भएका छन् । राप्ती र बङ्गलाचुली गाउँपालिकामा कागती र सुन्तलाखेती गर्न कृषक लागेको गाउँपालिकाले जनाएको छ ।

निर्वाहमुखी कृषि पेशाको विकल्पमा कृषक लाग्न थालेको भन्दै ३० हजार कागतीका बेर्ना कृषकलाई उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत १४ हजार र गाउँपालिकाको कृषि शाखाअन्तर्गत १६ हजार कागतीका बेर्ना वितरण गरिएको हो । कृषकको मागअनुसार यस वर्ष वडा नं ९ लाई १४ हजार र अन्य आठ वटा वडालाई दुई÷दुई हजार बिरुवा वितरण गरिएको हो ।

राप्ती गाउँपालिकालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले वडा नं ९ को देविकोटलाई कागतीको केन्द्र बनाउन थालिएको छ । देविकोटमा यस वर्ष १४ हजार ४०० बिरुवा दिइएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको रु चार लाख लागतमा देविकोटलाई कागतीको केन्द्र बनाउन लागेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

परम्परागत खेतीमा भन्दाबढी उत्पादन दिने भएपछि देविकोटका कृषक कागतीखेतीमा होमिएको वडा नं ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरले जानकारी दिनुभयो । एउटै कृषकले दुई बिघामा कागतीखेती शुरु गरेको बताइएको छ । “देविकोटमा पहिलेदेखि नै कागती उत्पादन हुँदै आएको छ । कृषकले एउटै बोटबाट रु पाँच हजारको कागती बिक्री गर्न थालेपछि व्यावसायिक कागतीखेतीतर्फ कृषकको आकर्षण बढ्न थालेको छ”, वडाध्यक्ष सुनारी मगरले भन्नुभयो ।

त्यस्तै बङ्गलाचुली गाउँपालिकाले वडा नं ५ लाई फलफूलको केन्द्र बनाउन शुरु गरेको छ । फलफूलखेतीका लागि वडा नं ५ अत्यन्तै सम्भावनाको क्षेत्र रहेको भन्दै गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले कुडुले, साकिनी, मुर्कुटीमा व्यावसायिक फलफूलखेती शुरु गरेको जानकारी दिनुभयो । अघिल्लो वर्षजस्तै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहयोगमा यस वर्ष पाँच हजार कागती र पाँच हजार सुन्तलाका बिरुवा रोपिएको बताइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार