झापाका १४ पालिका बाढीबाट प्रभावित

२०७७ असार १५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य नौ वटा नदीले दमक नगरपालिकाबाहेकका पालिकामा प्रभावित पार्ने रेडक्रसको तथ्याङ्कले देखाएको छ । बाढीबाट ती पालिकाका बासिन्दा समस्यामा परेमा विभिन्न क्षेत्रका स्कूल, सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनलाई आश्रयस्थलको रुपमा समेत तोकिएको रेडक्रसको तथ्याङ्कमा उल्लेखित छ ।

लगातार वर्षा भइरहेकाले पानीको बहाव बढेमा बिरिङ, कनकाई माई, रतुवा, मेची, निन्दा, देवनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल र बनियानी नदीले बढी क्षति गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।

अड्तीस सय परिवार प्रभावित हुने

झापाका नदी नालाहरुमा पानीको बहाव बढेमा बाढीबाट तीन हजार ८०३ परिवारका १८ हजार ८१० जना प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । रेडक्रसले तयार पारेको तथ्याङ्कमा बाढीबाट प्रभावित हुनसक्ने आठ पालिकामध्ये सबैभन्दा बढी झापा गाउँपालिकाका ८५० परिवारका चार हजार २०० जना प्रभावित हुने देखिएको छ । यस पालिकाका वडा नम्बर १, २, ३, ४ र ७ का बासिन्दा बढी प्रभावित हुनेछन् ।

रेडक्रसले बाढीको उच्च जोखिममा रहेका गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर १ र २ बाट ४५२ परिवार, कचनकवल गाउँपालिकाका सबै वडाबाट ७५०, भद्रपुर नगरपालिकाको १, २, ८ नम्बर वडाका ३००, शिवसताक्षी नपाको वडा नम्बर ४, ५, ६, ७, १० का ३५०, मेचीनगर नपाको वडा नम्बर ७ र १५ का २००, कनकाई नपाको चार वटा वडाहरुबाट २५० र बाह्रदशी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६ र ७ का ६५० परिवार गरी जम्मा तीन हजार ८१० परिवार छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले जिल्ला विपद् व्यवस्थापन समितिलाई सोबारे जानकारी गराइसकिएको बताउनुभयो ।
–––रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार